Logo

मुख्य समाचार

रंगमञ्चबाट फिल्ममा उडान भर्दै विशाल देवकोटा, डेब्यु फिल्म ‘लालीबजार’ प्रदर्शनको तयारीमा



काठमाडौं । नेपालमा रंगमञ्चबाट फिल्म क्षेत्रमा पाइला चाल्दै गरेका कलाकारमध्ये विशाल देवकोटा एक उदीयमान नामका रूपमा देखिएका छन् । षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको उनको डेब्यु फिल्म ‘लालीबजार’ २०८३ साल बैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा देवकोटाले आफ्नो अभिनय यात्राको सुरुवात रंगमञ्चबाट भएको बताएका छन् । सानैदेखि कलाकार बन्ने सपना बोकेका उनी नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए । रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् ।

‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,’ उनले भने ।

उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका थिए । यसरी रंगमञ्चको अनुभवले उनलाई फिल्ममा प्रवेश गर्ने ढोका खोलेको उनले बताएका छन् ।

रंगमञ्च र फिल्म अभिनयबीचको भिन्नता अनुभव गर्दै उनले दुवै माध्यममा अभिनयको स्वरूप फरक हुने बताए । रंगमञ्चमा एकैपटक पात्रलाई पूर्ण रूपमा जिउन पाइने भएपनि फिल्ममा भने दृश्य–दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने उनको अनुभव छ ।

डेब्यु कलाकार देवकोटाले नेपाल न्यूज बैंकसँगको कुराकानीमा आफ्नो नयाँ फिल्म ‘लालीबजार’ र अभिनय यात्राबारे खुलासा गरे । देवकोटाले हाल आफू फिल्म ‘लालीबजार’को गीत सार्वजनिक, प्रेस मिट तथा अन्य प्रचारप्रसारका गतिविधिमा व्यस्त रहेको बताए ।

‘लालीबजार’ उनको पहिलो फिल्म हो । यसमा उनी कसरी जोडिए भन्नेबारे उनले रोचक अनुभव सुनाए । उनले भने, ‘यो मूभीमा अलिकति इन्ट्रेस्टिङ छ । मैंले लास्ट टाइम कान्तिपुर थिएटरमा एउटा प्ले गरेको थिएँ ‘मिरा’मा । त्यो प्ले हेर्न प्रदिप भट्टराई सर, रबिन दाई अनि जेवी दाई आउनुभएको थियो । उहाँहरुले हेरिसकेपछि एकचोटि अप्सनका लागि भनेर अफिसमा बोलाएर अडिसनको सिलसिलाहरु सुरु भएको थियो ।’

फिल्ममा आफ्नो भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले कथाबारे धेरै खुलाउन नमिल्ने बताए । फिल्ममा कथावस्तु समाजको यथार्थसँग जोडिएको उल्लेख गरे ।

‘यो हाम्रो समाजकै यथार्थमा आधारित कथा हो, जसले एउटा परिवेश र त्यहाँको माहोल प्रस्तुत गर्छ,’ उनले भने ।

रंगमञ्च र फिल्म अभिनयबीचको फरकबारे बोल्दै देवकोटाले नाटकमा एकैपटक पात्रलाई जिउन पाइने तर फिल्ममा टुक्राटुक्रामा अभिनय गर्नुपर्ने अनुभव सुनाए । ‘नाटकमा एकपटक सुरु भएपछि निरन्तर बग्छ, तर फिल्ममा सिनअनुसार टुक्राटुक्रामा काम गर्नुपर्छ,’ उनले भने ।

नयाँ टिमसँग काम गर्दा पनि आफूलाई सहज अनुभव भएको उनले बताए । षट्कोण आट्र्स जस्तो स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको उनको भनाइ छ ।

‘अब फिल्ममा जोडिसकेपछि टिम नयाँ त नयाँ नै थियो । नयाँ टिमसँग काम गर्दाखेरि सहज नै भयो । षट्कोण आट्र्स जस्तो स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनु आफ्नो लागि सौभाग्य हो ।’

उनले दर्शकलाई ‘लालीबजार’ परिवारसहित हेर्न आग्रह गरे । ‘यो पारिवारिक रूपमा हेर्न मिल्ने, रमाइलो र नयाँ कथामा आधारित फिल्म हो । बैशाख १८ गतेदेखि नजिकका सिनेमा हलमा गएर हेर्नुहोस्,’ उनले भने ।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ । आकांक्षा धामी, नेपाल न्यूज बैंक

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १० : २४ बजे