सुर्खेत । इनिशाको हत्या गरिएको र दोषिलाई कार्वाहीमा ढिला भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरुले इनिशाको लासकाे डमी बोकेर प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता सावित्री सुवेदी र रञ्जना कामीसहितको उपस्थितिमा वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । उनीहरुले हातमा नेपालको संविधान समातेर आखामा कालोपट्टी बाँधेर इनिशाको न्यायको माग गरेका हुन् ।

इनिशाको लासको डमी बनाएर उनीहरुले प्रदर्शन गरेका थिए । इनिशाको न्यायको माग गर्दै सडकमा आउनु परेको उनीहरुले बताए । दोषिलाई फाँसीको सजाय हुनु पर्ने मागसहित विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका हुन् । इनिशा हत्याको निश्पक्ष छानविन तथा दोषिलाई कडा माग गर्दै सडक प्रदर्शनमा उत्रिनु परेको उनीहरुको भनाई छ । इनिशा बिक र निर्मला पन्त लगायतका बालिकाहरुलाई न्याय दिन ढिलाई गरे अझ शसक्त ढंगले आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ । घटनाका दोषिहरु पक्राउ परिसक्दा पनि कार्वाहीको लागि ढिलाई भएको भन्दै उनीहरुले आक्रोश पोखे ।

फागुन २३ गते बिहान विद्यालयको प्रयोगात्मक क्रियाकलापमा जानु छ भनेर निस्किएकी इनिशा घरबाट गएको दुई घण्टापछि वीरेन्द्रनगर नजिकैको सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिईन् । उनलाई अस्पताल पुगाए लगत्तै मृत घोषित गरिएको थियो । इनिशाको परिवार र आफन्तले सामुहिक बलात्कार पछि हत्या गरिएको भन्दै अझै शव बुझेका छैनन् । प्रहरीले मुख्य अभियुक्तविरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैद र बाँकी तीन जनाविरुद्ध घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउनु पर्ने माग दावी गरेको छ ।

सामुहिक बालात्कार पछि इनिशाको हत्या भएको भन्दै आफन्त र परिवारले उनको शव बुझ्न मानेका छैनन् । घटना भएको २३ दिनदेखि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमै रहेको छ । घटना वास्तविकता पहिचान गरी दोषिलाई कार्वाहीको विश्वसनिय वातावरण नभएसम्म शव नउठाउने उडान परिवार र आफन्तले गरेका छन् ।

सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्लाई कार्वाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् । इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरेको थियो ।
प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिसकेको छ । सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । इनिशा घटनाको बिषयमा दोषिलाई कार्वाही र पीडित परिवारलाई न्याय दिलाउन भन्दै देशभर प्रदर्शन भईरहेका छन् ।










प्रतिक्रिया