भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि देशभर एकैसाथ सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड ले बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने जनाएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन् ।
यस वर्ष परीक्षार्थीमध्ये छात्राको संख्या बढी रहेको छ । कुल दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सातजना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिने बोर्डले जनाएको छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी विद्यार्थी वाग्मती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना सहभागी हुनेछन् । यस्तै, कोसीमा ८२ हजार ४८७, मधेसमा ९० हजार २४३, गण्डकीमा ४३ हजार ९७२, लुम्बिनीमा ९१ हजार ८०२ र सुदूरपश्चिममा ५४ हजार ६३५ विद्यार्थी परीक्षा दिनेछन् ।
बोर्डका अनुसार देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।
परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्ड, २६ गते ऐच्छिक द्वितीय खण्ड तथा चैत २७ देखि २९ गतेसम्म प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।
१३ चैत्र २०८२, शुक्रबार
0
Shares








प्रतिक्रिया