Logo

मुख्य समाचार

सुनकोसी कटानको जोखिममा विश्वामित्र गुफा



रामेछाप । सुनकोसी किनारमा रहेको धार्मिक तथा ऐतिहासिक विश्वामित्र गुफा सुनकोसी नदी कटानको जोखिममा परेको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम स्थित सुनकोसी नदी किनारमा रहेको गुफा धार्मिक तथा ऐतिहासिक दृष्टिले निक्कै महत्वको रहेको छ।

गुफामा विश्वामित्र ऋषिले तपस्या गरी सूर्य भगवानबाट गायत्रीमन्त्र प्राप्त गरेको विश्वास गरिन्छ । त्यसैले गुफालाई गायत्रीमन्त्र प्रादुर्भाव भएको गुफाको रूपमा लिइन्छ ।

विश्वामित्र ऋषिले आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिरमा पूजा गरी यही गुफामा तपस्या गरेर बस्ने गर्दथे र जाडोको बेलो गुफा भन्दा माथि राकाथुमको चापाडीमा रहेको ढुङ्गामा गएर घाम ताप्ने र गर्मीको रातमा सोही ढुङ्गाको च्यापमा रात काट्ने गरेको किंवदन्ती छ ।

धेरै वर्षसम्म अलपत्र अवस्थामा रहेको यो गुफाको धार्मिक तथा पुरातात्त्विक क्षेत्रमा काम गर्ने व्यक्तिहरू तथा वडा कार्यालय समेतको संलग्नतामा केही संरक्षणको काम भएको छ । गुफाको छेउमा आश्रमस्थल बनाउनुका साथ ढुङ्गा छाप्ने काम भएको छ । त्यसै गरी गुफाको बाहिर गेट निर्माण गरिएको छ ।

गुफाको संरक्षणको लागि सुनकोसी नदी किनामा केही तटबन्ध समेत गरिएको छ । तर गत वर्ष रोसी र सुनकोसी नदीमा आएको बाढीका कारण गुफा छेउको तटबन्धमा क्षति पु¥याएको छ ।

बाढीले गुफा सहितको क्षेत्र पुरेर बालुवा जमेकोमा वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिको सक्रियतामा सफा गरिएको भएपनि तटबन्ध मर्मतमा भने ठुलै धनराशि आवश्यक पर्ने भएको कारण सो काम हुन सकेको छैन ।

त्यसैले सुनकोसीमा फेरी बाढी आएमा गुफा क्षेत्रमा क्षति हुने जोखिम बढेको छ । यसको संरक्षणको लागि बेलैमा ध्यान जान आवश्यक देखिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ४ : ५७ बजे