Logo

समाचार

लागू औषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ 



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट लागू औषध गाँजा जस्तो देखिने वस्तु करिब ३ किलो ४३५ ग्राम सहित थाइल्यान्डका नागरिक ३९ वर्षीय याेङयुट थुइओनलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

थाइ एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला परेको हो । उनलाई थप आवश्यक अनुसन्धानको लागि लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्राम ७७० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-११ बसपार्क डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोल घर भएका ३१ वर्षीय सनम बुर्जा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी, कैलाली-टीकापुर नगरपालिका-९ बाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४०० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय सागर रावल र १९ वर्षीय जीवन कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१.००८ प ८४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
यस्तै, मोरङ, सुन्दरहरैँचा नगरपालिका-५ बलियाबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ४९ मिलिग्राम सहित सोही नगरपालिका-६ जब्दी बस्ने २४ वर्षीय विपिन दाहाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ८ : ३६ बजे