सुर्खेत । कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित गरिएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने सङ्कल्पसहितको ६ बुँदे प्रस्ताव पारित गरिएको हो ।
कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सभामा ६ कुँदे सङ्कल्प प्रस्ताव पेस गरेका थिए । जुम्लाबाट निर्वाचित एमाले सांसद टेकराज पछाइ र कालिकोटकी दक्षिणा शाहीले समर्थन गरेपछि प्रदेशसभामा छलफल भएको प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो ।
सङ्कल्प प्रस्तावका प्रस्तावक विष्टले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा जुम्ला कालिकोट, हुम्ला, मुगु र डोल्पामा नियमित हवाई सेवा सञ्चालन गर्न प्रदेश सरकारले गम्भीरतापूर्वक आवश्यक पहल गर्ने र उक्त सेवा सञ्चालनका लागि संघीय सरकार, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, तथा निजी वायुसेवा प्रदायकहरुसँग आवश्यक समन्वय र सहकार्यका लागि पहल गर्ने लगायतका छ बुँदे प्रस्ताव सभामा पेस गरेका थिए । उनले सभामा पेस गरेको प्रस्तावमा हवाई सेवा सञ्चालनलाई दिगो, नियमित तथा प्रभावकारी बनाउन अनुदान, सहुलियत वा निजी सार्वजनिक मोडल अवलम्बन गर्ने व्यवस्था मिलाउने प्रस्ताव गरेका छन् ।
साथै, प्रदेशभित्र रहेका विमानस्थलको स्तरोन्नति, मर्मत सम्भार तथा सुरक्षा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने र आपतकालिन स्वास्थ्य सेवा, विपत् उद्धार तथा मानवीय सहायता प्रयोजनका लागि हवाई सेवालाई विशेष प्राथमिकतामा राखी सञ्चालन गर्ने व्यवस्था मिलाउने प्रस्ताव गरेका छन् ।
त्यस्तै, हवाई सेवा सञ्चालनबाट स्थानीय अर्थतन्त्र, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जनामा पर्ने सकारात्मक प्रभावका निमित्त नियमित अनुगमन तथा मुल्याङकन गर्ने व्यवस्था मिलाउने सङ्कल्प प्रस्तावमा गरिएको छ । उक्त प्रस्ताव कार्यान्वयनले कर्णालीका नागरिकको जीवनस्तरमा सुधार, सेवा पहुँचमा विस्तार र देशको समग्र आर्थिक सामाजिक विकासमा महत्त्वपूर्ण टेवा पुग्नेछ प्रस्तावक विष्टको दाबी छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई उडान गर्ने सम्बन्धमा बनेको सङ्कल्प प्रस्ताव सर्व सहमतिले पास भएसँगै संघीय सरकारसँग छलफल हुने प्रदेशसभा सदस्यहरूले बताएका छन् । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दुर्गम तथा हिमाली जिल्लामा उडान नहुँदा लुम्बिनी प्रदेशको नेपालगन्जबाट यात्रुले हवाई सेवा लिने गरेका छन् ।
प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेस गर्दै कर्णालीका हिमाली जिल्लाहरूका नागरिकले सहज यातायातको उपभोग गर्न पाउनु पर्ने भन्दै उनले यसका लागि प्रदेश सरकारले अपनत्व लिन जरुरी भएको बताए । प्रदेश सरकारको सीमित स्रोत साधनलेमात्र सबै काम गर्न नसक्दा स्थानीय सरकार र संघीय सरकारसँगको सहकार्यमा काम गर्नु पर्नेमा जोड दिए ।
‘कर्णालीमा विमानस्थल बने पनि प्रदेश राजधानीबाट सहज पहुँच नहुनु दुखद हो’ उनले भने, ‘यसका लागि प्रदेश सरकारले पहल गर्नै पर्छ ।’
लामो समयदेखि निर्माणाधीन कालिकोटको सुनथराली विमानस्थल निर्माण सम्पन्न भई परीक्षण उद्घाटन भई सक्दा पनि नियमित सञ्चालनमा जान नसकेको र हुम्ला, जुम्ला, मुगु र डोल्पामा प्रदेश राजधानीबाट उडान नहुँदा हिमाली जिल्लाका नागरिकले सास्ती भोग्नु परेको उनले बताए ।
हिमाली जिल्लाका उडानहरूमा सहुलियत प्रदान गर्ने प्रदेश सरकारले नीति कार्यक्रम कार्यान्वयनका लागि पनि सङ्कल्प प्रस्ताव जरुरी भएको उनले बताए । विष्टले गरेको प्रस्तावलाई समर्थन गर्दै एमाले सांसद टेकराज पछाइले कर्णालीका विमानस्थलमा नियमित उडानका लागि सङ्कल्प प्रस्ताव जरुरी भएको बताए । सङ्घीयताभन्दा अगाडि भइरहेको नियमित हवाई सम्पर्क संघीयतापछि टुट्नु दुखद भएको भन्दै यसलाई नियमित गर्न कर्णाली प्रदेशसभामा सबै दलहरूको एकता जरुरी भएको उनले औँल्याए ।
प्रस्तावमा भाग लिँदै नेकपाकी सांसद उर्मिला विकले हिमाली जिल्लामा नियमित हवाई उडानका लागि ढिलै भए पनि आवश्यकता अनुसारको प्रस्ताव आएको भन्दै सबै दलले यसको समर्थन गर्नु पर्ने बत्ताइन् ।
‘बिकासका लागि हामी प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षमा विभाजित हुनुहुँदैन’ उनले भनिन्, ‘कर्णालीको बिकास र समृद्धिका लागि हामी सबै एक ठाउँमा हुनुपर्छ । त्यसैले यो प्रस्तावको पक्षमा हाम्रो दलको समर्थन छ ।’
कर्णालीको भौगोलिक विकटताका कारण सबै क्षेत्रमा सडक पहुँच नभएको र यातायातको सुविधाबाट यहाँका नागरीहरू वञ्चित भएका छन् । कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा हवाई सुविधा प्रयोग गर्न कर्णालीका नागरिकले लुम्बिनी प्रदेशको नेपालगन्ज जानु पर्ने बाध्यता रहेको छ ।










प्रतिक्रिया