काठमाडौं । इरान माथि संयुक्त राज्य अमेरिका र इजरायल ले आक्रमण सुरु गरेको २१ दिन पुगेको छ । गत फागुन १७ गतेदेखि सुरु भएको द्वन्द्वका कारण पश्चिम एसियामा तनाव चुलिएको छ भने त्यहाँ रहेका नेपाली नागरिक त्रसित बनेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियाका संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, इराक, टर्की र जोर्डन लगायत देशमा गरी १७ लाख २९ हजारभन्दा बढी नेपाली कार्यरत छन् । इरानले यी देशहरूमा रहेका अमेरिकी सैन्य आधारहरू लक्षित गर्दै आक्रमण जारी राखेको जनाइएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले पश्चिम एसियाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र तनाव घटाउने अन्तर्राष्ट्रिय प्रयासहरूबारे जानकारी लिइरहेको बताए ।
सरकारले नेपाली नागरिकको उद्धारका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी)’ गठन गरी सक्रिय बनाएको छ । ईआरटीको तेस्रो बैठकले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स मार्फत ‘रेस्क्यु फ्लाइट’ सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । दम्माम, रियाद, मस्कट, दोहा, दुबई, सारजहाँ र अबुधाबीबाट उद्धार उडान सञ्चालन गर्ने तयारी भइरहेको छ ।
त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरेबिया, यूएई, कतार, ओमान, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । युद्ध सुरु भएपछि यसअघि ती देशमा श्रम स्वीकृति स्थगन गरिएको थियो ।
उद्धार खर्चका लागि वैदेशिक रोजगार बोर्डको कोष प्रयोग गर्ने तयारी गरिएको छ भने आवश्यक परे थप बजेटका लागि सरकारसँग समन्वय गरिने जनाइएको छ । विभिन्न देशस्थित नेपाली दूतावासहरूले ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरी स्थानीय स्तरमै सहयोग तथा समन्वय गरिरहेका छन् ।
हाल इराक, कुवेत र बहराइनको आकाश उडानका लागि बन्द रहेको छ भने कतार र यूएई आंशिक रूपमा खुला छन् । साउदी अरेबिया र ओमानको हवाई सेवा भने सञ्चालनमै रहेको छ ।
कतार एयरवेज का उडानमार्फत १७ र १८ मार्चमा क्रमशः ५६२ र ४५१ नेपाली स्वदेश फर्किएका छन् । दूतावासको सहजीकरणमा केही नेपालीलाई प्राथमिकताका साथ उद्धार गरिएको छ ।
यसैबीच, विभिन्न देशस्थित नेपाली दूतावासहरूले समस्यामा परेका नागरिकलाई खाना, आवास, टिकट व्यवस्थापन तथा कानुनी सहयोग प्रदान गरिरहेका छन् । कुवेत, बहराइन र साउदी अरेबियामा समस्यामा परेका नेपालीसँग दूतावासले निरन्तर सम्पर्क राखेको जनाएको छ ।
सरकारले आवश्यक परे थप उद्धार उडान तथा आपतकालीन सहायता विस्तार गर्ने तयारी गरेको छ ।
६ चैत्र २०८२, शुक्रबार
0
Shares








प्रतिक्रिया