Logo

राजनीति

मन्त्री श्रेष्ठले सार्वजनिक गरिन एकसय दिनका उपलब्धी, नीतिगत सुधार र सेवा विस्तारमा काम गरेको दाबी



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले १०० दिनको उपलब्धि सार्वजनिक गरेकी छिन् । उनले जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारमा मन्त्रीका रुपमा आफूले गरेको काम र उपलब्धि सार्वजनिक गरेकी हुन् ।

मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको काम कारबाहीलाई सेवाप्रवाह र प्रणालीगत सुधार दुई भागमा विभाजन गरी ६ वटा क्षेत्रमा केन्द्रित भइ काम गरेको उल्लेख गरेकी छिन् ।

‘जेन–जी आन्दोलन पश्चात मन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा तत्काल सकारात्मक प्रभाव पार्ने काम गर्नु मेरो प्रमुख दायित्व थियो । त्यसैले मैले मन्त्रालयका प्राथमिकताहरूलाई दुई मुख्य विधा (सेवा प्रवाहतर्फ र प्रणालीगत सुधारतर्फ) मा विभाजन गर्दै ६ वटा क्षेत्रमा केन्द्रित गरेको थिएँ’, उनले भनिन् ।

मन्त्री श्रेष्ठले नीतिगत तथा संस्थागत उपलब्धिअन्तर्गत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको परियोजना सहजीकरणसम्बन्धी कार्यविधि, २०८२ तयार गरी सरकार र आइएनजिओसँगको सहकार्य सुदृढ गरिएको उल्लेख गरेकी छिन् । साथै आफूले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि, २०८२ तयार पारेको बताएकी छिन् ।

लैङ्गिक समानताको राष्ट्रिय लक्ष्यलाई व्यवहारमा उतार्दै लैङ्गिक उत्तरदायी शासन प्रवद्र्धन गर्न सम्पूर्ण सार्वजनिक निकायका नीति, कार्यक्रम, बजेट, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले मूल्याङ्कन (परीक्षण) गर्नु आवश्यक भएकाले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि, २०८२ बनाइएको उनको भनाइ छ ।

उक्त यस कार्यविधिले लैङ्गिक समानता नीति तथा वार्षिक नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्दै सार्वजनिक सेवा प्रवाह र शासन प्रणालीलाई लैङ्गिक रूपमा उत्तरदायी बनाउने मन्त्री श्रेष्ठले उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सुरक्षित, सम्मानजनक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नीति निर्माण, समन्वय तथा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको थियो । निर्वाचनसम्बन्धी सचेतना अभिवृद्धि गर्न नेपाली, नेवारी, मैथिली, भोजपुरी र राईलगायत सात भाषामा तयार पारिएका श्रव्यदृश्य सामग्री मन्त्रालयका सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रसारण गरिएको थियो ।

बालबालिकाको अधिकार र संरक्षण सुदृढ गर्न बालबालिका उत्तरदायी बजेट संकेत सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०८२ तयार पारिएको छ । बाल सुधारसम्बन्धी व्यवस्थापन सुदृढ गर्दै नुवाकोटस्थित केन्द्रीय कारागार परिसरमा बाल सुधार गृह स्थापना गरी भक्तपुर र पर्साबाट १८ वर्षभन्दा माथिका ८१ जना बालबिझ्याइकर्तालाई स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

भक्तपुरमा दिवा शिशु स्याहार केन्द्र स्थापना अन्तिम चरणमा पुगेको छ भने सिंहदरबारस्थित दिवा शिशु स्याहार केन्द्रको भवन विस्तार प्रक्रिया अघि बढाइएको छ । मकवानपुर बाल सुधार गृहका लागि भवन थप्ने कार्यसमेत प्रक्रियामा छ । साथै बाल सुधार गृहमा मनोपरामर्श, खेलकुद तथा शैक्षिक सामग्री व्यवस्थापनका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरिएको छ । मन्त्रालयले बालविवाह अन्त्य गर्ने रणनीति अन्तर्गत सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।

अपाङ्गता अधिकार प्रवद्र्धनतर्फ मन्त्रालयलाई अपाङ्गमैत्री नमुना निकाय बनाउने उद्देश्यले दृष्टिविहीन व्यक्तिको पहुँच सुदृढ गर्न नेपाल सरकारको इतिहासमै पहिलोपटक ब्रेल एम्बोस गरिएको बोर्ड तथा भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको छ । संघीय मन्त्रालयका भौतिक संरचना अपाङ्गमैत्री छन् वा छैनन् भन्ने परीक्षण गर्ने कार्यक्रम प्रक्रियामा रहेको छ ।
राष्ट्रिय अपाङ्ग कोषमार्फत दोस्रो त्रैमासिकसम्म १८५ जना अपाङ्गता भएका व्यक्तिलाई २४२ थान सहायक सामग्री उत्पादन तथा वितरण गरिएको छ । संरक्षकविहीन तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न केन्द्रमार्फत आवासीय पुनःस्थापना सेवा प्रदान गरिएको छ भने कुष्ठरोग प्रभावित १३१ जनाको लालनपालन तथा व्यवस्थापन पनि मन्त्रालयमार्फत भइरहेको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणतर्फ मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । मानव बेचबिखन नियन्त्रणसम्बन्धी अन्तरदेशीय परामर्श बैठक विराटनगरमा सम्पन्न भएको छ भने सम्बन्धित नियमावलीको दोस्रो संशोधन मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको मन्त्रालयले जनाएको छ । जोखिममा रहेका समूहलाई लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै मानव बेचबिखनसम्बन्धी अध्ययन प्रतिवेदन मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका १३ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी ज्यान बचाइएको मन्त्रालयले जनाएको छ । उद्धार गरिएका नवजात शिशुको उपचारका लागि कान्ति बाल अस्पतालसँग सम्झौता गरिएको छ । बालविवाह, दाइजो, तिलकजस्ता कुरीति अन्त्य तथा महिलाको सामाजिक र राजनीतिक नेतृत्वमा सहभागिता बढाउन नेपाल टेलिभिजनमार्फत सचेतनामूलक सामग्री निर्माण तथा प्रसारण सुरु गरिएको छ । साथै महिला उद्यमी समूहलाई प्रविधि सहयोग कार्यक्रमको अनुगमन र विपन्न महिलाको जीविकोपार्जन सुधार कार्यक्रमको स्थलगत अनुगमनसमेत गरिएको छ ।
ज्येष्ठ नागरिक संरक्षणतर्फ ‘हाम्रो साझा अभियान ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नारासहित पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८२ विभिन्न कार्यक्रमसहित मनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा हटलाइन सेवा १११५ मार्फत ज्येष्ठ नागरिकलाई स्वास्थ्य तथा सूचना सेवा प्रदान गर्ने व्यवस्था सुरु गरिएको छ । उपत्यकाका तीन सामुदायिक विद्यालयमा बुढ्यौली शिक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
लैङ्गिक हिंसा न्यूनीकरणतर्फ जाजरकोटकी सराकुमारी शाहीको अनसन प्रकरण समाधानका लागि मन्त्रालय, राष्ट्रिय महिला आयोग, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवालाबीच वार्ता भएको थियो । गर्भस्थ शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै उनलाई सुरक्षित स्थानमा राखेर उपचार तथा कानुनी प्रक्रियामा सहयोग गरिएको मन्त्रालयले जनाएको छ । आरोपितलाई नेपाल प्रहरीले पक्राउ गरी कानुनी प्रक्रियाका लागि सुर्खेत जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ भने पीडित महिलालाई सुरक्षासहित सुर्खेत पु¥याइएको छ ।
मन्त्री श्रेष्ठले मन्त्रालयले छोटो अवधिमै नीतिगत सुधार, संस्थागत सुदृढीकरण र सेवा सुधारका क्षेत्रमा महत्वपूर्ण पहल गरेको उल्लेख गर्दै यी उपलब्धि संघ, प्रदेश र स्थानीय तह, मन्त्रालयअन्तर्गतका निकाय, कर्मचारी, अभियन्ता, विकास साझेदार तथा सञ्चारकर्मीको सहकार्यबाट सम्भव भएको बताइन् । उनले आगामी दिनमा पनि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको हकअधिकार, सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा मन्त्रालय अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ७ : ०४ बजे