Logo

मुख्य समाचार

रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा निरन्तर सुनुवाइ



काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसँग सम्बन्धित रिटमा आज पनि सर्वोच्च अदालत मा निरन्तर सुनुवाइ हुने भएको छ।
आइतबारदेखि ‘हेर्दाहेर्दै’मा राखिएको उक्त रिटमा सोमबार पनि सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि मुद्दा मंगलबारका लागि पनि निरन्तर सुनुवाइमा राखिएको हो।
सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेल को संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।
रविविरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उक्त रिट दायर गरिएको हो। सविता भण्डारी बराल ले काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएपछि कानुनी विवाद उत्पन्न भएको थियो।
महान्यायाधिवक्ताको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
गत पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगी मुद्दामा मात्र अभियोजन गर्न र संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्। त्यसपछि उक्त निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको हो।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : ३४ बजे