काठमाडौं । राष्ट्रिय लिग फुटबलमा काँक्रेविहार युथ क्लब ले नवौँ हार व्यहोरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मा भएको खेलमा शीर्ष डिभिजन क्लब जावलाखेल युथ क्लब ले काँक्रेविहारलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।
जावलाखेलको जितमा निकोलस ओडानी हामिल्टनले दुई गोल गरे भने बौबाकार सिसोखो र विकास दर्लामी मगरले समान एक–एक गोल गरे । काँक्रेविहारका दीपेन्द्र चुनाराले एक गोल फर्काए ।
खेलको छैटौँ मिनेटमा चुनाराले गोल गर्दै काँक्रेविहारलाई सुरुआती अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । १६औँ मिनेटमा सिसोखोले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए ।
दोस्रो हाफमा जावलाखेलले खेलमा पकड जमायो । ५०औँ मिनेटमा हामिल्टनले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । ६४औँ मिनेटमा विकास दर्लामी मगरले गोल थप्दै अग्रता फराकिलो बनाए । इन्जुरी समयमा हामिल्टनले व्यक्तिगत दोस्रो गोल गरेपछि जावलाखेलले ४–१ को जित सुनिश्चित गर्यो ।
यस जितसँगै जावलाखेलले प्रतियोगितामा १३ अंक बनाएको छ । जावलाखेलले १० खेलमा चार जित, एक बराबरी र पाँच हार व्यहोरेको छ ।
पराजित काँक्रेविहार भने १० खेलमा एक बराबरीबाट मात्र एक अंक जोड्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा सीमित रहेको छ ।
१ चैत्र २०८२, आइतबार
69
Shares









प्रतिक्रिया