Logo

समाचार

मुगुका कृषकलाई ओखर खेतीसम्बन्धी तालिम प्रदान



मुगु । मुगुका कृषक र कृषि प्राविधिकहरूलाई ओखर खेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा हिउँदे फलफूल नर्सरी तथा फलफूल व्यवस्थापन अन्तर्गत ओखर खेतीको आधुनिक प्रविधिबारे तालिम सञ्चालन गरिएको हो ।

बिहीबारदेखि शनिबारसम्म सञ्चालन भएको तालिममा व्यावसायिक रूपमा खेती गरिरहेका अगुवा कृषक र प्राविधिक गरी ३१ जनाको सहभागिता रहेको तालिम संयोजक भावना जौसीले जानकारी दिइन् । तालिममा ओखर उत्पादन प्रविधि तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै प्रकारका कक्षा सञ्चालन गरिएको थियो ।

कार्यक्रमका अनुसार करिब ६०–७० प्रतिशत तालिम नर्सरी फर्ममै व्यावहारिक अभ्यासका रूपमा सञ्चालन गरिएको थियो भने बाँकी ३०–४० प्रतिशत सैद्धान्तिक कक्षा रहेको थियो । तालिमको मुख्य उद्देश्य मुगुमा ओखरका गुणस्तरीय बिरुवा उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै भविष्यमा अन्य जिल्लामा समेत बिरुवा निर्यात गर्ने रहेको कार्यक्रम प्रमुख तेजविक्रम मल्लले बताए ।

तालिममा ओखरको प्रसारण, सायन तथा रुटस्टक छनोट, कलमी गर्ने विधि, टङ्ग ग्राफ्टिङ र चिप बडिङ, टप वर्किङ, ब्रिज ग्राफ्टिङ, बिरुवा उत्पादन, संरक्षण, गोडमेल, काँटछाँट तथा नर्सरी व्यवस्थापनलगायत विषयमा प्रयोगात्मक र सैद्धान्तिक ज्ञान दिइएको थियो । त्यसैगरी ओखर खेतीका लागि आवश्यक हावापानी, माटो तथा जग्गा छनोट, खाडल तयारी, रोपण, बगैँचा व्यवस्थापन, सिँचाइ, मल्चिङ, अन्तरबाली व्यवस्थापन, भण्डारण तथा बजारीकरणका विषयमा पनि सहभागीलाई जानकारी गराइएको अगुवा कृषक बाचबहादुर बुढाले बताए ।

तालिमका प्रशिक्षक तथा बागवानी अनुसन्धान केन्द्र राजिकोट, जुम्लाका वैज्ञानिक राजकुमार गिरीले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न कृषकलाई आग्रह गरेका छन् । उनले गाउँमै प्रयोग गरेर अन्य कृषकलाई पनि ज्ञान बाँड्न आग्रह गर्दै आवश्यक परेमा थप प्राविधिक सहयोग उपलब्ध गराउने बताए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : २२ बजे