Logo

मुख्य समाचार

धुलिखेल–खावा सडक चैत ७ देखि दुई हप्ता राति बन्द


३० फाल्गुन २०८२, शनिबार  

138
Shares

काभ्रेपलाञ्चोक। धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे कार्य गर्न आगामी चैत ७ गतेदेखि दुई हप्तासम्म रातिको समयमा यातायात बन्द गरिने भएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनाअनुसार चैत ७ देखि २० गतेसम्म दैनिक साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशका अनुसार सो अवधिमा ठूला चारपांग्रे सवारीसाधन र यात्रुवाहक बस सञ्चालनमा रोक लगाइनेछ। साथै टिपर, ट्रक लगायत मालवाहक सवारीसाधनलाई पास लिएका भए पनि चौबीसै घण्टा सञ्चालन गर्न नदिइने जनाइएको छ।
सडकमा कालोपत्रे कार्य गर्न यातायात बन्द गरिन लागेको भन्दै कार्यालयले सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तीन वर्षदेखि स्तरोन्नति कार्य प्रभावित भएपछि पुरानो ठेक्का रद्द गरी नयाँ निर्माण कम्पनीमार्फत कामलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ। चार किलोमिटर लामो उक्त सडकखण्ड समयमै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको इन्जिनियर योगेशले बताए।
जिल्ला सदरमुकाम धुलिखेलदेखि खावासम्मको सडक तोकिएको समयमा सम्पन्न नभएपछि कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। सम्झौताको समयसीमा सकिएको ११ महिनापछि गत वर्ष फागुन १५ गते ठेक्का रद्द गरिएको थियो।
उक्त सडक विस्तारको काम २०७९ जेठ २० गते २२ महिनाभित्र सम्पन्न गर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का दिइएको थियो।
अरनिको राजमार्गसँग जोडिएको यो सडक चीनसँगको उत्तरी नाका तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य मार्ग हो। निर्माण ढिलाइका कारण यात्रु लामो समयदेखि धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन्।
सडकलाई बलियो बनाउन ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसिएको बेस राखी दुई चरणमा डीबीएम र अस्फाल्ट कालोपत्रे गर्ने योजना रहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ६ : २७ बजे