Logo

खेलकुद

विश्वकप बोनस बाँडफाँटबारे निर्णय हुन बाँकी


२९ फाल्गुन २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । International Cricket Council (आईसीसी) ले टी–२० विश्वकप २०२६ मा प्राप्त आम्दानी सहभागी टोलीहरूलाई बाँडफाँट गर्दा नेपालको भागमा दुई लाख ५६ हजार १५४ अमेरिकी डलर (झन्डै तीन करोड ७० लाख रुपैयाँ) परेको छ।
Cricket Association of Nepal (क्यान) ले उक्त रकमको केही अंश प्रतियोगितामा सहभागी खेलाडी र टिम अफिसियलहरूलाई बोनसका रूपमा वितरण गर्ने जनाएको छ। तर खेलाडीलाई कति रकम दिने भन्ने विषयमा हालसम्म निर्णय भएको छैन।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार बोनस बाँडफाँटसम्बन्धी निर्णय कार्यकारी समिति बैठकले गर्नेछ। बैठक बस्ने मिति भने अझै तय भएको छैन।
उनले आईसीसीबाट रकम प्राप्त भएपछि खेलाडीहरूलाई बोनस वितरण गरिने बताए। खेलाडीलाई बाँडफाँट गरेपछि बाँकी रकम विश्वकप तयारीमा लागेको खर्च, प्रशासनिक खर्च तथा क्रिकेट विकासका विभिन्न कार्यक्रमहरूमा प्रयोग गरिनेछ।
यसअघि अमेरिका र वेस्ट इन्डिजमा आयोजित ICC Men’s T20 World Cup 2024 मा नेपालले झन्डै तीन करोड रुपैयाँ प्राप्त गरेको थियो। त्यस्तै सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको नेपालले करिब ५५ लाख रुपैयाँ प्राप्त गरेको थियो।
आईसीसीले समूह चरण, सुपर–८, फाइनलसम्मको यात्रा, जित संख्या तथा ‘प्लेयर अफ द म्याच’का आधारमा टोलीहरूलाई रकम प्रदान गर्ने व्यवस्था गरेको छ।
आईसीसीले ICC Men’s T20 World Cup 2026 सकिएपछि सबै सहभागी टोलीहरूलाई गरी एक अर्ब ६५ लाख रुपैयाँ बराबरको पुरस्कार रकम वितरण गर्ने जनाएको छ।
प्रतियोगितामा सबैभन्दा कम रकम ओमान, नामिबिया र क्यानडाले पाएका छन्। ती टोलीले लिग चरणका सबै चार खेल हारेका कारण करिब तीन करोड २५ लाख रुपैयाँ मात्र प्राप्त गरेका हुन्।
नेपालले स्कटल्यान्डलाई पराजित गरेपछि थप ३१ हजार १५४ अमेरिकी डलर (झन्डै ४५ लाख रुपैयाँ) प्राप्त गरेको थियो।
यसैबीच प्रतियोगिताको च्याम्पियन India national cricket team ले २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर र उपविजेता New Zealand national cricket team ले १४ लाख २२ हजार ६९२ अमेरिकी डलर प्राप्त गरेका थिए।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ६ : ४७ बजे