Logo

समाचार

मध्यपूर्वका ‘ट्रान्जिट’मा रहेका नेपाली उद्धारका लागि नियोगलाई १०/१० लाख माग


२७ फाल्गुन २०८२, बुधबार  

0
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशको ‘ट्रान्जिट’मा रहेका नेपाली नागरिकको उद्धारका लागि त्यहाँस्थित प्रत्येक नेपाली नियोगलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराउन सरकारसँग बजेट माग गरेको छ ।
बुधबार (फागुन २७) आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले ट्रान्जिटमा अलपत्र परेका नेपालीको उद्धार तथा अन्य अत्यावश्यक कामका लागि तत्काल बजेट आवश्यक रहेको बताए ।
उनका अनुसार प्रारम्भिक रूपमा हरेक नियोगका लागि १० लाख रुपैयाँ बजेट मागिएको हो । उक्त रकम उद्धार कार्य, व्यवस्थापन तथा आपत्कालीन आवश्यकताका काममा प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।
हाल मध्यपूर्व तथा खाडी क्षेत्रका युनाइटेड अरब इमिरेट्स (अबुधाबी र दुबई), साउदी अरेबिया (रियाद र जेद्दा), कुवेत, बहराइन, ओमान, कतार, इजिप्ट र इजरायलमा नेपाली नियोग रहेका छन् ।
अमेरिका/इजरायल र इरानबीचको युद्धका कारण क्षेत्रीय सुरक्षा अवस्था बिग्रिएपछि मध्यपूर्वमा रहेका करिब १७ लाख २९ हजार नेपाली त्रासमा रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये करिब पाँच हजार नेपालीले आफूहरू असुरक्षित अवस्थामा रहेको जानकारी गराएका छन् ।
मन्त्रालयका अनुसार जोखिममा परेका नेपालीको अवस्थाबारे नियोगमार्फत निरन्तर जानकारी संकलन भइरहेको छ भने आवश्यक परे उद्धारको तयारी पनि गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : १४ बजे