काठमाडौं । परराष्ट्र मन्त्री बाला नन्द शर्माले इजरायलमा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरूको सुरक्षाबारे विभिन्न टिकाटिप्पणी भए पनि त्यहाँ आवश्यक सुरक्षा व्यवस्था रहेको बताएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री शर्माले इजरायलका धेरै कृषि क्षेत्रमा बंकर (सुरक्षा आश्रय) उपलब्ध रहेको दाबी गरे। उनले आफू स्वयं त्यहाँ पुगेर बंकरको अवस्था अवलोकन गरेको बताउँदै इजरायली पक्ष यस विषयमा गम्भीर रहेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘इजरायलमा एग्रिकल्चरमा काम गर्नेलाई बंकर उपलब्ध छैन भन्ने कुरा धेरै सुनिएको छ, तर धेरै कृषि क्षेत्रमा बंकर छन्। म आफैं गएको छु, देखेको छु र केही बंकरमा बसेर पनि आएको छु। यस विषयमा इजरायलीहरू गम्भीर छन्।’
मन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार पूर्ण रूपमा जिम्मेवार रहेको स्पष्ट पार्दै आवश्यक परे उद्धार गर्न सरकार तयार रहेको बताए ।
‘हाम्रा नागरिक बाहिर अलपत्र परे भने ल्याउन सक्दिन भन्न पाइँदैन। ३० लाख नेपाली पश्चिम एशियामा छन्, उनीहरूको सुरक्षाका लागि योजना बनाएर अघि बढ्नुपर्छ र राज्यलाई निरन्तर सक्रिय बनाउनुपर्छ,’ उनले भने।
यसैबीच परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियामा विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको जानकारी दिए। उनले हालसम्म उक्त क्षेत्रमा रहेका नेपाली नागरिक सुरक्षित रहेको बताएका छन्।
सचिव राईका अनुसार तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था अहिलेसम्म देखिएको छैन ।
‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर तत्काल उद्धार गरी ल्याइहाल्नुपर्ने अवस्था छैन,’ उनले भने।
परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको पनि उनले बताए। सरकारद्वारा गठन गरिएको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरू त्यहाँ रहेका नेपाली नियोगमार्फत निरन्तर कार्यान्वयन भइरहेको उनको भनाइ छ ।
सचिव राईले नेपालमा रहेका परिवारजन र पश्चिम एशियामा बसोबास गर्ने नेपालीहरूलाई अनावश्यक रूपमा विचलित वा चिन्तित नहुन आग्रह गरेका छन्।
सरकारले नागरिकको उद्धार गर्न नसक्ने हो कि भन्ने आशंका निराधार भएको बताउँदै सचिव राईले सरकार आफ्नो नागरिकको सुरक्षा र उद्धार गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरे। उनका अनुसार आवश्यक अवस्था आएमा सरकारले जुनसुकै हालतमा पनि नेपाली नागरिकको उद्धार गर्नेछ ।










प्रतिक्रिया