Logo

राजनीति

निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा कांग्रेसका ११ नेतामाथि कारबाही सिफारिस


२७ फाल्गुन २०८२, बुधबार  

138
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै नेपाली कांग्रेस सिराहा–२ का सभापति महेशप्रसाद चौधरीले ११ नेतामाथि कारबाही गर्न सिफारिस गरेका छन्।
चौधरीले केन्द्रीय अनुशासन समितिलाई पठाएको सिफारिस पत्रमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला सिराहा–१ मा पार्टी उम्मेदवारको हितविपरीत गतिविधि भएको उल्लेख गरेका छन्। उनका अनुसार ती नेताहरूले अन्य दलका उम्मेदवारलाई सहयोग गर्दै आफ्नै पार्टी उम्मेदवारलाई असहयोग गरेका थिए।
नेपाली कांग्रेस विधान २०१७ (संशोधनसहित) को धारा ३४ (४) ‘क’ बमोजिम उनीहरूलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको चौधरीले जनाएका छन्।
कारबाही सिफारिसमा परेकामा पूर्वकेन्द्रीय सदस्य प्रभुनारायण चौधरी, महासमिति सदस्य सन्तोष चौधरी, महाधिवेशन प्रतिनिधि गौरीनारायण चौधरी, जिल्ला कार्यसमिति सदस्य रामगणेश दास, क्षेत्रीय समितिका सहसचिव मुकेश महतो, क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्ता, बुथ सभापति अम्बराज मिश्र, बुथ सभापति विनोद साह, क्षेत्रीय सदस्य गोपालकृष्ण यादव, थारु संघ सिरहाका अध्यक्ष अजय चौधरी तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ सिरहाका अध्यक्ष आनन्द चौधरी रहेका छन्।
उनीहरूमाथि हुने कारबाहीबारे अन्तिम निर्णय भने नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गर्नेछ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  २ : ०५ बजे