काठमाडौं । बालेन्द्र शाह (बालेन)ले निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता समेत रहेका शाहले कुल १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका हुन्।
बुझाइएको विवरणअनुसार प्रचार–प्रसारका क्रममा दुईवटा सवारी साधन १२ दिनका लागि भाडामा लिँदा इन्धनसहित २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ भने मतदाता प्रशिक्षण कार्यक्रमको खाजामा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। यस्तै नमूना मतपत्र छपाइका लागि ४९ हजार ८५० रुपैयाँ खर्च गरिएको छ।
निर्वाचन कार्यालयसँग सम्बन्धित दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ रहेको तथा स्टेशनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
त्यसैगरी झण्डा र ब्याचसहितका प्रचार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।
२५ फाल्गुन २०८२, सोमबार
115
Shares









प्रतिक्रिया