Logo

प्रदेश

रौतहट ३ मा रास्वपाको ऐतिहासिक उदय : भारी मतान्तरले रविन्द्र पटेल विजयी


२४ फाल्गुन २०८२, आइतबार  

184
Shares

रौतहट । मधेस प्रदेशको राजनीतिक गढ मानिने रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार, रास्वपाका उम्मेदवार रविन्द्र पटेल आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १५ हजार ३६४ को फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।

निर्वाचन अधिकृत अवध किशोर प्रसाद कुशवाहाका अनुसार पटेलले कुल २७ हजार ३१८ मत प्राप्त गरे मधेसको राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएको रास्वपाका लागि यो जितलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस निर्वाचनमा स्थापित शक्ति र पुराना अनुहारहरूलाई पछि पार्दै पटेलले एकतर्फी नतिजा आफ्नो पक्षमा पारेका हुन । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मतमा चित्त बुझाउनुप¥यो ।

त्यस्तै, यस क्षेत्रमा प्रभावशाली मानिने आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ९ हजार ८९० मत मात्र प्राप्त गरे ।

नेकपा एमालेका उम्मेदवार कुन्दन प्रसाद कुशवाहा ९ हजार ६०५ मतका साथ चौथो स्थानमा रहे भने नेपाली कांग्रेसका उम्मेदवार राम कृपाल प्रसाद यादवले ६ हजार ४२० मत प्राप्त गरे ।

नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार पुनम देवीले ३ हजार ८८१ मत प्राप्त गरेको निर्वाचन अधिकृत कुशवाहाले जानकारी दिए ।

रौतहट क्षेत्र नम्बर ३ मा कुल १ लाख ८ हजार ६९९ मतदाता रहेका थिए। जसमध्ये निर्वाचनमा ७६ हजार ४२९ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको मतमध्ये ८ हजार ७५८ मत बदर भएको छ ।

रौतहट९३ को यो नतिजाले मधेसको राजनीतिमा परम्परागत दलहरूलाई ठुलो चुनौती दिएको छ। विकास र सुशासनको नारासहित चुनावी मैदानमा उत्रिएका पटेलको जितले यस क्षेत्रका जनताले परिवर्तनको पक्षमा स्पष्ट मतदान गरेको देखाउँछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  २ : २८ बजे