Logo

मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन लैङ्गिक, अपाङ्गता तथा समावेशी छैन : एफडब्लुएलडी


२४ फाल्गुन २०८२, आइतबार  

69
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लैङ्गिक, अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट पूर्णरूपमा मैत्रीपूर्ण हुन नसकेको एक छलफल कार्यक्रममा औंल्याइएको छ ।

महिला, कानुन तथा विकास मञ्च (एफडब्लुएलडी) को नेतृत्वमा विभिन्न १४ वटा गैरसरकारी संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष प्रस्तुत गरिएको हो ।

आइतबार आयोजित कार्यक्रममा प्रतिवेदनबारे जानकारी दिँदै एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले निर्वाचन अघि मतदान स्थलको तयारी, मतदानको समय र मतगणनाको अवस्थासमेत ‘जे–सी विधि’ प्रयोग गरेर पर्यवेक्षण गरी प्रतिवेदन तयार पारिएको बताए ।
उनका अनुसार सातै प्रदेशका २४ जिल्लामा रहेका १६० वटा मतदान बुथको प्रत्यक्ष अवलोकन गरी प्रतिवेदन तयार गरिएको हो ।

निर्वाचन आयोगबाट पर्यवेक्षणको स्वीकृति ढिलो प्राप्त भएकाले तयारीका लागि पर्याप्त समय नभए पनि सातै प्रदेशमा १६० जना पर्यवेक्षकलाई प्रशिक्षण दिएर मैदानमा पठाइएको उनले जानकारी दिए ।

अधिवक्ता श्रेष्ठले निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार मतदान केन्द्रको व्यवस्थापन हुन नसकेको बताए ।

‘न्यूनतम मापदण्ड पूरा भएका मतदानस्थल भेटिएनन्। मतदान केन्द्रहरूमा पर्याप्त सूचना र पहुँचको अभाव देखिएकाले आगामी निर्वाचनका लागि मतदान केन्द्र व्यवस्थापनबारे गम्भीर विश्लेषण गर्न आवश्यक छ,’ उनले भने ।

प्रतिवेदनअनुसार अधिकांश मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन भए पनि अन्य लैङ्गिक पहिचान भएका व्यक्तिका लागि व्यवस्था नभएको पाइएको छ । त्यस्तै प्राथमिक उपचार, पिउने पानी, स्तनपान कक्ष, आराम कक्ष जस्ता आधारभूत सुविधाको अभाव देखिएको उल्लेख गरिएको छ । साथै धेरै मतदान स्थल अपाङ्गतामैत्री नभएको र मतदानपछि फर्किने बाटो वृद्ध तथा अशक्त व्यक्तिका लागि सहज नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले पर्यवेक्षणका क्रममा प्राप्त अनुभव सुनाउँदै कतिपय मतदान स्थल महिलामैत्री भए पनि मतदानपछि बाहिरिने बाटोको व्यवस्थापनमा ध्यान नपुगेको बताइन् ।

पर्यवेक्षणमा सहकार्य गरेको टेवा संस्थाकी प्रतिनिधि रिता थापाले ६ जिल्लाका १२ वटा बुथमा गरिएको अवलोकनका क्रममा मतदान लाइन अव्यवस्थित रहेको, महिला प्रहरीप्रति फरक व्यवहार गरिएको तथा मतदान अधिकृतको व्यवहार कतिपय स्थानमा रुखो देखिएको बताइन् ।
कार्यक्रममा निर्वाचन पर्यवेक्षणका क्रममा खिचिएका तस्बिरहरूको प्रदर्शनी पनि राखिएको थियो । प्रदर्शनीमा मतदान केन्द्रको निर्माण, मतदान भइरहेको अवस्था र मतगणनाको दृश्य समेटिएका तस्बिरहरू राखिएका थिए ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ समग्रमा स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न भएको देखिए पनि लैङ्गिकता, अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट हेर्दा कतिपय पक्षमा सुधार आवश्यक देखिएको छ । उनले प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिएको जानकारी दिँदै विस्तृत सुझावसहितको पूर्ण प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए ।

संस्थाले पहिलो पटक प्रतिनिधिसभा निर्वाचनको प्रक्रियालाई लैङ्गिक, अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट पर्यवेक्षण गरेको जनाएको छ ।
साथै अन्तर्राष्ट्रिय नारी दिवसकै दिन कार्यक्रम परेको उल्लेख गर्दै श्रेष्ठले निर्वाचनमा महिला मतदाताको सहभागिता उत्साहजनक रहेको र केही महिला उम्मेदवार विजयी हुनु सकारात्मक पक्ष भएको बताए ।

तर गर्भवती र सुत्केरी महिलालगायत विशेष अवस्थाका मतदातालाई मतदान केन्द्रसम्म पहुँच सहज बनाउन थप व्यवस्थापन आवश्यक रहेको उनले औंल्याए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  २ : ०६ बजे