Logo

समाचार

नारामा सीमित नारी दिवस : चन्द्रपुरका महिला श्रमिकलाई ‘समान ज्याला’ सपना मात्र


२४ फाल्गुन २०८२, आइतबार  

69
Shares

रौतहट । मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । सहरका सुविधायुक्त होटेल र हलहरूमा ‘महिला सशक्तीकरण’ र समान अधिकारुका नारा घन्किरहँदा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा निर्माणाधीन एउटा घरको जगमा पसिना बगाइरहेका महिलालाई भने यो दिवसले छुन सकेको छैन । उनीहरूका लागि ‘नारी दिवस’ शब्द केवल एउटा अपरिचित ध्वनि मात्र बनेको छ ।

चन्द्रपुर नगरपालिका वडा नं. ६ बेल्डीकी सुकमाया माझी चर्को घाममा इँटा बोक्न व्यस्त छिन् । उनलाई मार्च ८ के हो र नारी दिवस किन मनाइन्छ भन्नेबारे कुनै जानकारी छैन ।

सुकमाया जस्ता श्रमिक महिलाहरूका लागि दिवस मनाउनु भनेको एक दिनको छाक टार्ने कमाइ गुमाउनु हो । ‘हाम्रो लागि त काम पाएको दिन नै उत्सव हो, दिवसले त पेट भरिँदैन,’ कामको बिचमा निधारको पसिना पुछ्दै एक महिला श्रमिकले गुनासो गरिन् ।

नेपालको संविधान र श्रम ऐनले ‘समान कामका लागि समान ज्याला’को ग्यारेन्टी गरेको छ । तर, चन्द्रपुरको निर्माण क्षेत्रमा यो कानुन केवल कागजमा सीमित देखिएको छ । यहाँ पुरुष सरह नै गह्रौँ इँटा बोक्ने र कठिन श्रम गर्ने महिलाहरू ज्यालामा चर्को विभेद भोग्न बाध्य छन् ।

एकजना पुरुष श्रमिकले दैनिक एक हजार रुपैयाँ ज्याला पाउँदा सोही प्रकृतिको काम गर्ने महिलाले भने मात्र सात सय रुपैयाँमा चित्त बुझाउनुपर्छ । काम गर्ने अवसरमा समेत महिलालाई प्राथमिकता दिइँदैन। श्रमको उचित मूल्य नपाउनु यहाँका महिलाको स्थायी नियति बनेको छ ।
आर्थिक अभाव मात्र होइन, यी महिला स्वास्थ्य र सामाजिक समस्याको चक्रव्यूहमा पनि फसेका छन् । दिनभर धुलो र धुवाँमा गह्रौँ भारी बोक्दा उनीहरूको प्रजनन स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

कामको थकान मेट्न घर पुग्दा पनि उनीहरूले सुख पाउँदैनन् । रक्सीको लतमा लागेका श्रीमानहरूको दुव्र्यवहार र घरेलु हिंसा झेल्नु उनीहरूको दैनिक दिनचर्या बनेको छ । बाहिर श्रमको शोषण र भित्र घरको हिंसा-यी दुईको मारमा चन्द्रपुरका ‘अदृश्य’ महिला श्रमिकहरूको जीवन पिल्सिएको छ ।

सहरमा हुने ¥याली र गोष्ठीहरू यी श्रमिक बस्तीसम्म पुग्न सकेका छैनन्। जबसम्म चन्द्रपुरका निर्माणाधीन भवन र इँटाभट्टामा पसिना बगाउने महिलाहरूले न्यायोचित ज्याला र सम्मान पाउँदैनन्, तबसम्म ‘नारी दिवस’ को सान्दर्भिकता माथि प्रश्न उठिरहनेछ । वास्तविक महिला अधिकारको नारा तब मात्र सार्थक हुनेछ, जब राज्य र स्थानीय निकायको नजर यी श्रमजीवी महिलाहरूको पसिनामा पर्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  २ : ०० बजे