काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गरिन् ।
संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी गरिएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेकी छन् । युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताइन् । नेपालले परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा पनि व्यक्त गरिन् ।
उनले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकोमा र त्यहाँ काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकहरू सहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका मानिसहरूको समान रूपमा हेरचाह गरेकोमा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गरिन् ।
१ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको क्रममा एक नेपाली नागरिकले आफ्नो अमूल्य जीवन गुमाएको थाहा पाउँदा आफूलाई धेरै दुःख लागेको बताइन् । साथै ५ मार्च २०२६ मा अबुधाबीको आईसीएडी क्षेत्रमा २ जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको जनाइन् ।
टेलिफोन संवादका क्रममा उनले यो अवस्था लामो समयसम्म रहने छैन र यसले अन्ततः नयाँ कूटनीतिको लागि ठाउँ उपलब्ध गराउनेछ भन्ने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताइन् । उनले तत्कालको लागि नेपाली नागरिकहरूको सुरक्षा चिन्ता र दीर्घकालीन रुपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा संकुचन र बढ्दो मुद्रास्फीति सहित व्यापक आर्थिक दबाबहरूको सामना गरिरहनुपरेको बताइन् । ट्रान्जिटमा रहेका यात्रुहरू बिस्तारै नेपाल वा तेस्रो देशहरूमा आ–आफ्ना गन्तव्यहरूमा सुरक्षित रूपमा प्रस्थान गर्न सक्ने कुरामा पनि उनले विश्वास व्यक्त गरिन् ।
युएईका राष्ट्रपतिले यस विषम परिस्थितिमा नेपालले एक असल मित्रराष्ट्रको रुपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति युएईको तर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे । उनले एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे ।
उनले नेपाल र युएईबीच कायम रही आएको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीहरुको मेहनती बानी र असल आचरणको प्रशंसा गरे ।










प्रतिक्रिया