Logo

समाचार

रामेछापमा ढिलो गरी मतगणना सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

138
Shares

रामेछाप । प्रतिनिधि सभा निर्वाचनको मतगणना रामेछापमा ढिलोगरी सुरु भएको छ । बिहानीपख नै मतपेटिका सङ्कलनको काम सकिएको भए पनि मतगणना सुरु हुन भने ढिलो भएको छ ।

मतपेटिका सङ्कलन भए पछि बिहान १० बजे सर्वदलीय बैठक राखिएको थियो । बैठकमा मालपोत कार्यालयको माथिल्लो तल्लामा बनाइएको मतगणनास्थल साँघुरो भएको भन्दै राजनीतिक दलका प्रतिनिधिले खुल्ला ठाउँमा मतगणनास्थल बनाउन सुझाव दिएका थिए ।

त्यसपछि सोही कार्यालयको तल्लो तलामा मतगणनास्थल बनाइएको छ । मतगणनास्थल नयाँ बनाउन समय लागेको कारण मतगणना सुरु हुन ढिलो भएको हो ।

नयाँ मतगणनास्थल बनाएसँगै दिउँसो ३ बजेबाट मतगणना सुरु भएको छ । एक निर्वाचन क्षेत्र रहेको रामेछापमा ९० हजार ७ सय १० मत खसेको छ । जिल्लामा कुल १ लाख ७८ हजार ९ सय ५५ मतदाता रहेका छन् ।

सुनापति गाउँपालिका–४ बेथानको वडा कार्यालय बुथबाट मतगणना सुरु गरिएको छ। सो बुथमा १४५१ मत खसेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ४४ बजे