काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट २४ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार काठमाडौं उपत्यकाबाट एकजना, कोसी प्रदेशबाट तीनजना, मधेस प्रदेशबाट चारजना, बागमती प्रदेशबाट सातजना, गण्डकी प्रदेशबाट तीनजना, लुम्बिनी प्रदेशबाट एकजना, कर्णाली प्रदेशबाट एकजना र सुदूरपश्चिम प्रदेशबाट चारजना गरी २४ जनालाई नियन्त्रणमा लिइएको हो।
निर्वाचनको समयमा आचारसंहिताविपरीत गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैबीच, निर्वाचन अवधिमा आचारसंहिता उल्लंघन गर्दै अनुमतिबिनै चलाइएका सवारीसाधनमाथि पनि कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट २ हजार ५९७ वटा सवारीसाधन ‘होल्ड’ गरिएको छ।
होल्ड गरिएका सवारीसाधनमध्ये २ हजार ३५१ वटा दुईपाङ्ग्रे र २४६ वटा चारपाङ्ग्रे रहेका छन्। प्रहरीले निर्वाचन आचारसंहिता पालना गराउन देशभर सुरक्षा निगरानी कडा पारिएको जनाएको छ।
२१ फाल्गुन २०८२, बिहिबार
0
Shares









प्रतिक्रिया