काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेलाई मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिनका रुपमा स्मरण गरेका छन् ।
विहीबार सामाजिक संजाल फेसबुकमार्फत उनले फागुन २१ गते सुखानी शहीद दिवस साथै दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएकाले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको स्मरण गरेका हुन् ।
उनले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । यी दुवै दिन मंैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।’
उनले जेल सार्ने बहानामा हत्या गर्न लाग्दा मृत्युको मुखबाट फर्केर आएको र १४ वर्षको कठोर कारावास बिताएको बताए ।
उनले लेखेका छन्, ‘झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरङ्कुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो । जेल सार्ने बहानामा हत्या गरिन लाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ ।’
उनले आफ्नो जीवनका दुई संयोगहरूको दिन भएकाले फागुन २१ कहिल्यै नबिर्सने दिन रहेको उल्लेख गरे । ‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो । फागुन २१ कहिल्यै नबिर्सने दिन हो,’ उनले लेखेका छन् ।
उनले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।










प्रतिक्रिया