Logo

Breaking News 1

हजुर एआई एप सार्वजनिक, ‘ठीकठाक’मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार


२० फाल्गुन २०८२, बुधबार  

69
Shares

काठमाडौं । नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक गरिएको छ । ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित विकास गरिएको उक्त एप आगामी फागुन १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको एपले सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलगायत बहुआयामिक सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने दाबी गरिएको छ ।

एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले ‘ठीकठाक’ मा राख्ने प्रत्येक पोस्टले ‘ठीकठाक स्कोर’ प्राप्त गर्नेछ । सोही स्कोरका आधारमा हरेक महिना उत्कृष्ट १०० जना प्रयोगकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ ।

महिनाकै उत्कृष्ट क्रिएटरलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको छ । यसले डिजिटल सामग्री निर्माणमा युवाहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

हजुर एआईले ‘हजुर एआई च्याट’ नामक फिचरमार्फत नेपाली भाषा बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबोट पनि उपलब्ध गराएको छ । उक्त च्याटबोटले अध्ययन, जानकारी खोजी तथा सामान्य परामर्शमा सहयोग गर्ने जनाइएको छ ।

त्यस्तै, भाषा सिकाइसम्बन्धी फिचरमा कथामार्फत विभिन्न भाषा सिक्न सकिने सुविधा राखिएको छ । उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्ताले मासिक १५ हजार रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । स्वास्थ्यसम्बन्धी ‘प्राणायाम’ फिचरमार्फत नेपाली भाषामै ध्यान तथा श्वास–प्रश्वास अभ्यास सिक्न सकिने बताइएको छ ।

मनोरञ्जनतर्फ समाचार, संगीत, लाइभ रेडियो, नेपाली चलचित्र तथा टेलिभिजन च्यानलहरू एउटै फिडमार्फत उपलब्ध हुने जनाइएको छ । यसरी सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलाई एउटै एपमा समेटेर प्रयोगकर्तालाई सहज र एकीकृत डिजिटल अनुभव दिने लक्ष्य राखिएको कम्पनीको दाबी छ ।

लन्च अफरअन्तर्गत जुलाई १, २०२६ सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता उपलब्ध गराइने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ९ : ०२ बजे