Logo

समाचार

नेपालगञ्जमा चुनावी तयारी तीव्र


१९ फाल्गुन २०८२, मंगलबार  

138
Shares

बाँके । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित कोरियनपुरमा तयारी तीव्र पारिएको छ । उक्त क्षेत्रमा रहेका मतदान केन्द्रहरूमा भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

मतदान अधिकृत प्रशान्त पोख्रेलका अनुसार वडा नं. १२ अन्तर्गत पाँच मतदान केन्द्र तोकिएका छन् । हिजोदेखि नै मतपत्रलगायत आवश्यक निर्वाचन सामग्री बुझेर कर्मचारी र सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले करिब ४० देखि ५० जना कर्मचारी खटाइएको उनले जानकारी दिए । सोही अनुपातमा सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको छ । पक्की संरचना (पिच तथा ढलान) भएको स्थानमा भुइँ खन्न नमिल्ने भएकाले बालुवा भरिएका बोरामा बाँस गाडेर अस्थायी मतदान बुथ निर्माण भइरहेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन आज बिहान सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हालसम्मको सुरक्षा अवस्था सामान्य र शान्तिपूर्ण रहेको तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय भइरहेको मतदान अधिकृत पोख्रेलले बताए ।
उनले वडा नं. १२ का मतदातालाई यही २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ६ : २४ बजे