काठमाडौं । विगत वर्षझैँ यस वर्ष पनि वसन्तपुर दरबार क्षेत्रमा होलीको हर्षोल्लास छाएको छ । बिहानैदेखि बसन्तपुरमा युवायुवती तथा पर्यटकहरूको उल्लेख्य भीड देखिएको छ ।
विशेषगरी युवायुवतीहरू समूह–समूहमा भेला भएर रंग खेल्दै, नाचगान गर्दै र संगीतमा रमाउँदै होलीको उत्सव मनाइरहेका छन् । हातमा अबिर र पानीका रंग लिएर उनीहरूले एक–अर्कालाई रंग्याउँदै वसन्तपुर क्षेत्रलाई उत्सवमय बनाएका छन् ।
नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरू पनि होलीको माहोलमा निकै उत्साहित देखिएका छन् । उनीहरू स्थानीयसँगै रंग खेल्दै, तस्बिर खिच्दै र नेपाली संस्कृतिको अनुभव लिँदै उत्सवमा सहभागी बनेका छन्।
भिडभाड, संगीत, हाँसो र रंगको मिश्रणले वसन्तपुर आज पूरै उत्सवमय बनेको छ। ऐतिहासिक सम्पदा क्षेत्र रंगीन बनेसँगै राजधानीको होली उत्सवको मुख्य आकर्षणका रूपमा वसन्तपुर फेरि एकपटक केन्द्रमा देखिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखमा पनि नेपालीहरु होलीमा रमाएका हुन् ।


















प्रतिक्रिया