बाजुरा । गृहमन्त्री ओमप्रकाश अर्याल बाजुरा आएका छन् । गृहमन्त्री अर्याल निर्वाचनको सुरक्षाका विषयमा जानकारी लिन बाजुरा आएका हुन् । जेनजी आन्दोलनपछि मन्त्री भएका अर्याल पहिलोपटक बाजुरा आएका हुन् ।
फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्री अर्याल र जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मीबीच छलफल गरिएको थियो ।
छलफलका क्रममा गृहमन्त्री अर्यालले आफू चुनावी सरकारमा रहेकाले बाजुरा मात्र नभई देशैभरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरिने बताएका हुन् । बाजुरामा विगतका जस्ता घटना घट्न नदिन सुरक्षा व्यवस्था मजबुत पारिने बताए ।
उनले बाजुरालाई संवेदनशील जिल्लाको रुपमा राखिएकोले निर्वाचन, निष्पक्ष र धाँधली रहित हुनेमा विश्वस्त रहन आग्रह गरे । समग्र जिल्लाको निर्वाचन सुरक्षाबारे आफूले जानकारी लिएको र सोही अनुरुप सुरक्षा व्यवस्था मिलाइने बताएका हुन् ।
साथै उनले राज्य संयन्त्रले मात्रै निर्वाचन सफल नहुने हुँदा सम्पुर्ण जिल्लाबासी नागरिकले आफ्नो जिल्लाको निर्वाचन आफैं सफल पार्न लाग्नुपर्ने कुरामा जोड दिए ।
उनले भने,‘निर्वाचनलाई धाँधली रहित बनाउन आवश्यक छ । बाजुरामा विगतका जस्ता घटना घटेको सुन्न नपाईयोस् । कानुन कार्यान्वयनमा हामी खुट्टा टेक्छौँ। नियमको पालना गर्ने नागरिकले गर्नुपर्छ ।’
त्यस्तै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगामी निर्वाचन जस्ता घटना यो निर्वाचनमा नघट्ने प्रष्ट पारे ।
साथै उनले जिल्लामा निर्वाचनको तयारी करिव अन्तिम चरणमा पुगेको बताएका हुन् । निर्वाचनलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।
गृहमन्त्री अर्यालसंगै प्रहरी महानिरिक्षक दान बहादुर कार्कीसहित गृह सचिव सहितको उपस्थिति रहेको थियो।
१७ फाल्गुन २०८२, आइतबार
46
Shares








प्रतिक्रिया