काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो ।
खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा भएको बताइएको छ । सर्वोच्च नेताको कार्यालयले देशभर राष्ट्रिय शोक अवधि लागू गरिएको, सरकारी भवनहरूमा झण्डा आधा झुकाइने तथा विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू आयोजना गरिने जनाएको छ । यस घटनासँगै इस्लामिक गणतन्त्रको ३७ वर्ष लामो नेतृत्वकालको एउटा अध्याय समाप्त भएको टिप्पणी गरिएको छ ।
खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता थिए । उनी इस्लामिक क्रान्तिका संस्थापक अयातोल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारीका रूपमा सत्तामा आएका थिए । उनको नेतृत्वकाल पश्चिमी शक्तिविरुद्धको कडा अडानका लागि परिचित थियो । इरानको सरकारी समाचार संस्थाका अनुसार खामेनी आइतबार बिहान आफ्नै कार्यकक्षमा रहँदा आक्रमणमा मारिएका थिए ।
आधिकारिक फारसी सामाजिक सञ्जाल खातामा पवित्र कुरआनको एउटा आयत उल्लेख गर्दै उनको निधनलाई राष्ट्रको सार्वभौमिकताका लागि अन्तिम बलिदानका रूपमा चित्रण गरिएको छ । यसअघि इजरायली सञ्चारमाध्यमले इरानी स्रोतलाई उद्धृत गर्दै अमेरिकी–इजरायली आक्रमणमा खामेनीकी छोरी, नाति, बुहारी र ज्वाइँको पनि मृत्यु भएको उल्लेख गरेका थिए ।
यसबीच इरानका विभिन्न शहरहरूमा केही समूहले उत्सव मनाएको खबर बाहिरिएको छ । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही स्थानमा शासनविरुद्ध नाराबाजी गरिएको र सडकमा निस्केर खुसीयाली मनाइएको दृश्य सार्वजनिक भएका छन् ।
इरानी अधिकारकर्मी तथा पत्रकार मसीह अलिनेजादले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै उक्त घटनालाई ऐतिहासिक क्षणका रूपमा वर्णन गरेकी छन् ।
निर्वासित युवराज रेजा पहलवीले इरानीहरूलाई एकताबद्ध भई स्वतन्त्र र समृद्ध भविष्यका लागि स्थिर संक्रमणको समर्थन गर्न आह्वान गरेका छन् ।
उनले वर्तमान शासनले नयाँ उत्तराधिकारी नियुक्त गर्ने प्रयास असफल हुने दाबी गरेका छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको दाबी गर्दै यसलाई इरानी जनताका लागि न्यायको संज्ञा दिएका छन् ।
उनले मध्यपूर्वमा शान्ति स्थापना नभएसम्म लक्षित आक्रमण जारी रहने बताएका छन् । युद्धको अवस्थाबीच नयाँ सर्वोच्च नेता चयन प्रक्रिया चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । भावी नेतृत्व धार्मिक प्रतिष्ठानको नियन्त्रणमा रहने वा इस्लामिक क्रान्तिकारी सुरक्षा संरचनाको प्रभाव बढ्ने भन्ने विषयले इरानको राजनीतिक भविष्यप्रति चासो बढाएको छ । एएनआई










प्रतिक्रिया