Logo

समाचार

गृहमन्त्री विभिन्न जिल्लाका मतदान स्थलको अनुगमनमा


१५ फाल्गुन २०८२, शुक्रबार  

0
Shares

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे विभिन्न जिल्लाका मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।

उनीसँग कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्चअधिकारी टोली सहभागी थियो । टोलीले निर्वाचन सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको हो ।

अनुगमनमा सहभागी गृहमन्त्रालयका सह–प्रवक्ता रमा आचार्यका अनुसार मन्त्री अर्याल नेतृत्वको टोलीले शुक्रबार बिहान दोलखाको बैदेश्वर गाउँपालिकाका मतदान स्थलको स्थलगत अनुगमन गरी सुरक्षा अवस्थाबारे समीक्षा गरेको थियो । त्यसपछि टोलीले ओखलढुंगा पुगेर निर्वाचन तयारी र शान्ति सुरक्षाबारे अन्तरक्रिया गरेको थियो ।

ती छलफलका क्रममा गृहमन्त्री अर्यालले स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रतिवद्धता जनाए । उनले शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेकाले सबैले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । साथै उनले गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिने बताए ।

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन पनि उनले निर्देशन दिए ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, निश्पक्ष हुने विश्वास व्यक्त गर्दै निर्वाचन आचारसंहिता उलंघन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निर्वाचनको तयारी तथा जिल्लाको समग्र शान्ति सुरक्षाबारे जानकारी गराउनुका साथै उनले जिल्लामा स्रोत साधन तथा सुरक्षा टोलीको परिचालनबारे अवगत गराए ।

मुख्य निर्वाचन अधिकृतहरुले पनि निर्वाचनका लागि कर्मचारी व्यवस्थापन चुस्त र दुरुस्त रहेको तथा राजनीतिक पार्टीहरुसँग प्रभावकारी समन्वय भइरहेको बताए ।

पहाडी जिल्लाको अवलोकनपछि मन्त्री अर्यालको टोलीले तराई–मधेशका मोरङ, रौतहट र पर्षा जिल्लामासमेत मतदान स्थलको निरीक्षण गर्दै सरोकारवालासँग छलफल गरेको छ । पर्षाको छलफलमा बाराको जिल्ला सुरक्षा समिति तथा अन्य सरोकारवाला सहभागी थिए ।

अनुगमनकोक्रममा रौतहटमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले तराई–मधेश क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैको योगदान रहेको उल्लेख गरे । उनले निर्वाचन सम्बन्धी कुनै कसुर भएमा निर्वाचन विरोधी तत्वहरुलाई उन्मुक्ति दिन नहुनेमा जोड दिए । मन्त्री अर्यालले जिल्लामा निर्वाचन सुरक्षा तयारीको राम्रो प्रवन्ध गरेकामा गृह मन्त्रालयकोतर्फबाट हार्दिक आभार प्रकट गरे ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विभिन्न समूह र संस्थाले बेला बखत धार्मिक तथा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास गरिएपनि त्यसलाई नियन्त्रणमा लिएर शान्ति सुव्यवस्था कामय गरिएको उल्लेख गरे ।

जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत मनोज केसी र निर्वाचन अधिकृत सिताराम खड्काको उपस्थिति रहेको थियो । मुख्य निर्वाचन अधिकृतले निर्वाचनको सबै तयारी भइसकेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीले सबै जिल्लाको ब्रिफिङ लिई निर्वाचनको लागि सम्पूर्ण तयारी भएको अवगत गराए ।
अनुगमनमा गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, डिआइजी विष्णु भट्ट सहभागी थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : ५२ बजे