Logo

राजनीति

इलाम २ मा भेषराजलाई चुनावी चटारो, जिल्लामै बसौं बसौं लाग्नेगरी काम गर्ने प्रतिवद्धता


१४ फाल्गुन २०८२, बिहिबार  

0
Shares

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भेषराज आचार्यले चुनावी अभियानलाई तिब्रता दिएका छन् । आधिकारिक उम्मेदवारको टुंगो लागेसँगै गाउँ छिरेका आचार्य टोलीसहित घरदैलो गरिरहेका छन् ।

चार दशक सक्रिय राजनीतिमा विताएका आचार्य हालसम्म राज्यको लाभको पदमा पुगेका छैनन् । उनको पार्टी नेतृत्व र संसद छिर्ने प्रयास पनि असफल हुँदै आएको छ । तर यस पटक जसरी भएपनि संघीय संसद छिर्नेगरी मतदाताको मन जित्ने प्रयासमा छन् ।

आफूसँग मतदातासँग सहजै उपलब्ध हुने बताउँदै उनले इलाममै बसौं बसौं लाग्नेगरी काम गर्ने पनि प्रतिवद्धता जनाएका छन् । पार्टीपंक्ती सबैको साथ पाएका आचार्यले आफ्नो माहोल सकरात्मक भएको प्रतिक्रिया दिए । बस्नयोग्य, लगानीमैत्री, समुन्नत इलामको परिकल्पना गर्दै पूर्वाधार क्षेत्रको योजनावद्ध विकासमा काम गर्ने पनि जनाएका छन् ।

आचार्यले गाउँमा नै रोजगारी, गाउँमा नै धन, स्वदेशमा नै उद्यम युवाको मन, पर्यटकीय क्षेत्रमा दीर्घकालिन सोच, पर्यटनस्थल आयको स्रोत, इलामलाई शैक्षिक हब बनाउने, इलाममै उपचार, इलामबासीको अधिकार, पारदर्शी नीति,विधीको शासन, सेवाग्राही मैत्री झन्झटमुक्त प्रशासनलगायतका एजेन्डाहरु अघि सारेका छन् ।

यता, मुख्य प्रतिस्पर्धीका रुपमा रहेको एमाले वंश र विरासतको राजनीति जोगाउने कसरतमा छ । उक्त दलबाट सुहाङ नेम्बाङ उम्मेदवार छन् । उनी एमालेका तत्कालीन नेता एवं पूर्वसभामुख स्व.सुवास नेम्बाङका पुत्र हुन् । पार्टीले पूर्वसभामुख नेम्बाङको निधनपछि सुहाङलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उनको जितमा तत्कालीन माओवादी निर्णायक बनेको थियो ।

तर यस पटक आचार्य बलियो रुपमा प्रश्तुत भएका छन् । कांग्रेस एकढिक्का भएर चुनावमा होमीएको कांग्रेस इलाम सचिव निरोज खड्गीले बताए । घरदैलोका क्रममा आचार्यले जिल्लाको विकासमा बाधक रहेका ऐन तथा नीतिहरुको सुधारका लागि मतदाताहरुको परामर्शमै संसदमा आवाज उठाउने बताउँदै आएका छन् ।

निष्ठा, आदर्श र कुशल संगठकको परिचय बनाएका उनी चार दशकयतादेखि नेपाली कांग्रेसको सक्रिय राजनीति रहेका उनी लोकतन्त्र, सामाजिक न्याय र जिल्लाको समग्र विकासमा अहोरात्र क्रियाशील छन् । २०३३ बाट नेविसंघमा क्रियाशील भएका उनी ०४२ सालदेखि पार्टी राजनीतिमा लागेर जीवन्त भूमिका निर्वाह गरिरहेका छन् ।

०४८ सालदेखि महासमिति सदस्य र पटक पटक महाधिवेशन प्रतिनिधिको भूमिकामा रहेका भेषराजले नेपाली कांग्रेसका बौद्धिक र इमानदार नेताको परिचय स्थापित गराएका छन् । कांग्रेसभित्र मात्र नभइ अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुका लागि आदर्श बनेका उनी यस पटक संघीय संसद छिर्ने दौडमा छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  १ : १८ बजे