Logo

राजनीति

अष्ट्रेलियाको बसाई त्यागेर जुम्लामा घरदैलो गर्दै मनऋषि


१४ फाल्गुन २०८२, बिहिबार  

0
Shares


बिकटदेखि राष्ट्रिय नेतृत्वसम्म : जुम्लालाई उकास्ने मनऋषि धितालको सपना र सङ्कल्प
जुम्ला । हिमाली जिल्लाको कठोर भूगोल, सीमित अवसर र ऐतिहासिक पहिचान बोकेको जुम्ला केवल विकटताको प्रतीक मात्र होइन, सम्भावनाको धनी क्षेत्र पनि हो । यही जुम्लाको ऐतिहासिक क्षेत्र मा २०३५ सालमा जन्मिएका मनऋषि धिताल राष्ट्रिय राजनीतिमा पहिचान बनाउँदै अघि बढिरहेका छन् ।

संघर्ष, विचार र सामाजिक उत्तरदायित्वलाई साथमा लिएर अघि बढ्ने उनको यात्रा एक साधारण गाउँबाट राष्ट्रिय बहससम्म पुग्ने कथा हो ।
धितालले सार्वजनिक जीवनको सुरुवात पत्रकारिताबाट गरेका थिए । उनले ‘जनादेश साप्ताहिक’मा पत्रकार तथा सम्पादकको रूपमा काम गर्दै समाजका आवाजलाई शब्द दिएका थिए ।

सञ्चार क्षेत्रमै सक्रिय रहँदा उनले नेपाल प्रेस काउन्सिल का पूर्व बोर्ड सदस्यका रूपमा नीति र आचारसंहिता निर्माणमा योगदान दिए । त्यसपछि अर्थ मन्त्रालयमा जनसम्पर्क सल्लाहकार भएर राज्य र नागरिकबीच संवाद सुदृढ बनाउने भूमिका खेले ।

विदेश बसाइँका क्रममा पनि धिताल निस्क्रिय बसेनन् । अष्ट्रेलियामा रहँदा उनले नेपाली समुदायसँग जोडिएर उद्धार, मानसिक स्वास्थ्य सचेतना, लागूपदार्थविरुद्ध अभियान तथा सामुदायिक सेवामा सक्रियता देखाए ।

विदेशको अनुभवले उनलाई विकास, सुशासन र नागरिक सेवाको महत्व अझ नजिकबाट बुझ्ने अवसर दियो ।

लेखन र विचारका क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ । माओवादी आन्दोलन, पत्रकारिता, समालोचना र समाजबारे एक दर्जनभन्दा बढी कृतिहरू लेखन तथा सम्पादनमार्फत उनले नेपाली समाजका राजनीतिक र सामाजिक यथार्थलाई दस्तावेजीकरण गरेका छन् ।

धितालको राजनीतिक एजेन्डा स्पष्ट र स्थानीय आवश्यकतामा केन्द्रित छ । शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, गरिबी न्यूनीकरण, कृषि आधुनिकीकरण, जडीबुटी उद्योग विकास, पर्यटन प्रवद्र्धन, जलस्रोत उपयोग, सिंजा सभ्यताको संरक्षण तथा मार्सी धानजस्ता स्थानीय उत्पादनको ब्रान्डिङ उनका प्राथमिकतामा पर्छन् । उनका अनुसार विकट जिल्लाको विकास केवल बजेटले होइन, दीर्घकालीन योजना, स्थानीय सहभागिता र निरन्तर राजनीतिक प्रतिबद्धताले सम्भव हुन्छ ।

तीन दशकभन्दा बढी पत्रकारितामा सक्रिय धिताल अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका छन् । प्रगतिशील लोकतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनी हाल जुम्लामा घरदैलो कार्यक्रममा व्यस्त छन् ।

जनताको समस्या प्रत्यक्ष सुन्ने, गाउँमै बसेर समाधान खोज्ने र जिल्लालाई राष्ट्रिय विकाससँग जोड्ने उनको मुख्य प्रतिबद्धता रहेको छ । उनको चुनाव चिन्ह ‘आँखा’ रहेको छ, जसलाई उनी जनताको निगरानी र जवाफदेहिताको प्रतीकका रूपमा व्याख्या गर्छन् ।

धितालको जीवनयात्राले विकट ठाउँबाट उठेको नेतृत्वले जनताको पीडा गहिरो रूपमा बुझ्न सक्छ । चुनावपछि पनि गाउँ फर्कने, विकासलाई भाषण होइन जिम्मेवारी मान्ने र भरोसालाई काममा रूपान्तरण गर्ने नेतृत्वको आवश्यकता अहिलेको राजनीतिमा देखिन्छ ।

मनऋषि धितालको राजनीतिक यात्रा व्यक्तिगत महत्वाकांक्षाभन्दा बढी जुम्लाको आवाजलाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ ।

जनताको साथ र विश्वास मिल्यो भने जुम्लाजस्तो हिमाली जिल्लाको सम्भावनालाई राष्ट्रिय समृद्धिसँग जोड्ने नयाँ अध्याय सुरु हुनसक्ने अपेक्षा गर्न सकिने उनले अपेक्षा राखेका छन् ।

धितालको प्रचारशैली पनि भिन्न छ । सत्यको पक्षमा निरन्तर बोल्दै र लेख्दै आएका धिताल प्रलोपाका बौद्धिक नेता मानिन्छन् । साविक माओवादी केन्द्रका नेता रहेका धिताल कात्तिक १९ गते विभिन्न वामपन्थी घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि प्रलोपा प्रवेश गरेका थिए ।

पत्रकार एवं साहित्यकार धितालका जनयुद्धको बेला २०५९ देखि २०६३ सम्मको यात्राका डायरीहरू संकलन गरेर जनयुद्धका डायरी प्रकाशन गरेका छन् । चुनाव प्रचारकै क्रममा उनले आफ्ना किताब बेचेर खर्च जोहो गर्ने गरेका छन् ।

दलित, पिछडिएका वर्ग र अल्पसंख्यक समुदायलाई भोट बैंक मात्र बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने मुद्दा धितालले उठाएका छन् । ‘सत्ताको होइन, आस्थाको राजनीति गरौँ । स्वार्थको होइन, सेवाको राजनीति गरौँ । आश्वासनको होइन, संकल्पको राजनीति गरौँ भन्ने हाम्रो मान्यता छ’, उनी भन्छन् । अष्ट्रेलिया बसाई त्यागेर गाउँ फर्केका उनको चुनावी अभियान निकै रोचक बनेको छ ।

जुम्लामा नेकपाबाट धितालका पूर्वसहकर्मी नरेश भण्डारी, कांग्रेसबाट दीपबहादुर शाही, एमालेबाट शान्तिलाल महत, रास्वपाबाट विनिता कठायत र राप्रपाबाट ज्ञानबहादुर शाही उम्मेदवार छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ११ : २० बजे