काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ प्रतिस्पर्धामा रहेका विदेशी पुरुषसँग विवाहित महिला उम्मेदवारको विवरण सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालत मा रिट निवेदन दायर गरिएको छ।
अधिवक्ता राजकुमार सुवालले बुधबार दायर गरेको रिटमा निर्वाचन आयोग ले त्यस्ता उम्मेदवारको अभिलेख सार्वजनिक नगर्दा उजुरी दिन चाहने सर्वसाधारण वञ्चित भएको दाबी गरिएको छ। रिटमाथि सुनुवाइका लागि बिहीबार (फागुन १४) पेसी तोकिएको सुवालले जानकारी दिएका छन्।
रिट निवेदनमा विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारको विवाह मिति, पति (विदेशी नागरिक)को नाम, ठेगाना लगायत सम्पूर्ण विवरण अविलम्ब सार्वजनिक गर्न आदेश जारी गर्न माग गरिएको छ। उक्त विवरण सार्वजनिक नगरिए रिटको औचित्य नै समाप्त हुन सक्ने भन्दै आयोगका नाममा तत्काल अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ।
रिटमा मतदाता नामावली ऐन, २०७३ को दफा १५ अनुसार झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको अवस्थामा उजुरी दिन सकिने कानुनी व्यवस्था रहे पनि आयोगले आवश्यक विवरण उपलब्ध नगराउँदा सूचनाको हकमा आघात पुगेको उल्लेख गरिएको छ। सुवालले यसअघि सूचनाको हकअन्तर्गत आयोगसँग सम्बन्धित विवरण माग गर्दै निवेदन दिएको पनि जनाइएको छ।
विदेशी नागरिकसँग विवाह गरेका महिला उम्मेदवारको अभिलेख आयोगसँग नरहेको अवस्थामा उनीहरूको अयोग्यताका सम्बन्धमा दाबी–विरोध र उजुरी गर्न नसकिने परिस्थिति सिर्जना भएको रिटमा उल्लेख छ। यसले विवादास्पद उम्मेदवारलाई उन्मुक्ति मिल्ने जोखिम रहेको दाबी पनि निवेदनमा गरिएको छ।
१३ फाल्गुन २०८२, बुधबार
0
Shares









प्रतिक्रिया