दमक । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। ‘हेभिवेट’ प्रतिस्पर्धा हुने क्षेत्रका रूपमा चिनिँदै आएको झापा–५ मा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार सो क्षेत्रमा नेपाल प्रहरीका पाँच डीएसपी परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको बैठकले नयाँ र पुराना दलबीच द्वन्द्व हुन सक्ने आँकलन गरेपछि थप सुरक्षा जनशक्ति पठाइएको हो।
झापा–५ मा केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा बालेन्द्र शाह आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।
झापा–५ अन्तर्गत इलाका प्रहरी कार्यालय दमक मा मात्र डीएसपीको दरबन्दी रहेको छ भने इलाका प्रहरी कार्यालय गौरीगन्ज मा प्रहरी निरीक्षकको नेतृत्व छ। तर गृह मन्त्रालयले थप चार डीएसपी पठाएको प्रहरीले जनाएको छ।
क्षेत्रका प्रत्येक पालिकामा एक/एक डीएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको छ। गौरीगन्ज, गौरादह र कमल गाउँपालिकामा समेत डीएसपीको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको छ।
प्रहरीका अनुसार झापा–५ मा मात्रै दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। निर्वाचन सुरक्षाका लागि यसअघि तैनाथ जनशक्तिबाहेक थप टोली परिचालन गरिएको हो। करिब दुई साताअघि कोसी प्रदेश प्रहरी कार्यालय बाट १०० सुरक्षाकर्मी झापा–५ मा पठाइएको थियो। केही दिनअघि फेरि थप चार डीएसपीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
झापा प्रहरी प्रमुख एवं एसपी वसुन्धरा खड्काका अनुसार निर्वाचनलक्षित सुरक्षा व्यवस्थापनका लागि तीन गुणा बढी जनशक्ति परिचालन गरिएको छ। जिल्लामा निर्वाचन सम्पन्न गराउन पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिइन्।
१३ फाल्गुन २०८२, बुधबार
0
Shares








प्रतिक्रिया