Logo

प्रदेश

युवाविहीन बस्तीमा चुनावी रौनकः न भोटर छन्, न त उत्साह !


१२ फाल्गुन २०८२, मंगलबार  

69
Shares

सुर्खेत । कर्णालीका पहाडी डाँडाहरुमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाज गुञ्जिरहेको छ । हातमा झण्डा र झोलामा घोषणापत्र बोकेका नेताहरू दैलो–दैलो पुगिरहेका छन् ।

अरुबेला मतदाताले ‘नमस्कार’ गरेको वास्ता नगर्ने उम्मेद्वारहरु अचेल बाटोमा कोही देख्ने बित्तिकै दुबै हात जोडेर नमस्कारको अभिवादन गर्छन् । कोही त खुट्टामै ढोक्छन् भने कोही शिर निहुँराएर मतदाता सामु झुकिरहेका देखिन्छन् ।

सडक यातायातले छोएका बस्तीहरुमा विभिन्न दलका झण्डावाला गाडीहरुमा चुनावी गीतहरु गुञ्जिरहन्छन् । तर, जब उम्मेदवारहरु र उनका सहयोगीहरु भोट माग्न गाउँ पस्छन्, उनीहरूलाई स्वागत गर्न बाटोमा न त तन्नेरीको ताँती देखिन्छ, न त चुनावको त्यो पुरानो रौनक । केही सिमित कार्यकर्ताहरुकोले उनीहरुलाई पूmलमाला र खादा ओडाउँछन् अनि लगाउँछन् गाउँको वास्तविकताबारे बेली बिस्तार ।

गाउँमा पुगेका उम्मेद्वारहरुलाई भोट थपिएको र थप्न सकिने सम्भावनाबारे भारतबाट आउने र सहरबाट घर फर्किनेहरुको संख्यामा निर्भर हुने रिपोर्टिङ स्थानीय कार्यकर्ताहरुले गर्न थालेका छन् ।

कालिकोटका गाउँहरुमा चुनावप्रतिको रौनक खासै देखिएन । मतदान गर्न गाउँबाहिर रहेकाहरु फर्कन कि नफर्किने भन्ने दोधारमै छन् भने गाउँमा भएकाहरुमा पनि उत्साह देखिएन । मतदातामा चुनावप्रतिको निराशा र वितृष्णा छाएको छ । उनीहरुमा उत्साहभन्दा बढी प्रश्न र असन्तोष देखिन्छ ।

उम्मेदवार र कार्यकर्ता मतदाताको घरदैलो गरिरहेका छन् । उनीहरुले मतमात्रै मागिरहेका छैनन् बिकासका सपना र आश्वासनका पोकाहरु पनि संगै बाँडिरहेका छन् ।

मतदाताहरुमा चुनावको रौनक र राजनितिक दलहरुप्रतिको आशा हराए पछि गाउँमा चुनावको उत्साह नभएको नरहरीनाथ गाउँपालिका–३ का धर्मप्रसाद उपाध्यायले बताए । ‘उम्मेद्वारहरु हरेक दिन आउँछन्, आश्वासन र बिकासका सपना बाँड्छन्’ उनले भने, ‘तर मतदाताले अहिले उनीहरुलाई पत्याइरहेका छैनन् ।’ गाउँका अधिकांश मानिसहरु रोजगारीका लागि देशका सहरी क्षेत्रमा, भारत तथा अन्य मुलुकहरुमा गए पछि यूवाविहीन भएको उनको भनाई छ ।

रोजगारीको लागि गाउँका युवाहरु भारतलगायतका अन्य मुलुक र देशकै सहरी क्षेत्रमा गए पछि यो चुनावमा मतदान अपेक्षाकृत हुन नसक्ने अनुमान स्थानीयले गर्न थालेका छन् । गाउँबाट अन्य क्षेत्रमा गएका मतदाताहरु मतदान केन्द्रमा पुगेर भोट हाल्ने अवस्था बनाउन नसके मतदान कम हुन सक्ने नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट बताउँछन् ।

‘साबिकको कर्णालीमा सबैभन्दा धेरै मतदाता भएको पालिका हाम्रै हो’ उनले भने, ‘गाउँ बाहिर रहेकाहरु चुनावमा फर्किएनन् भने मतदान न्युन हुन सक्छ ।’ नरहरीनाथमा कूल मतदाता १३ हजार ६३ जना रहेपनि त्यसको आधा मतदात हुने अवस्था नरहेको उनको भनाई छ ।

स्थानीय तह गठनपछि गाउँमै विकास र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो । तर अधिकांश बजेट सडक ट्रयाक खोल्न र भवन निर्माणमा सीमित हुँदा उत्पादनमुखी क्षेत्रमा ठोस परिणाम नआएको स्थानीय बताउँछन् । कृषि आधुनिकीकरण, जडीबुटी प्रशोधन, पर्यटन प्रवद्र्धन जस्ता योजनाहरू कागजमै सीमित हुँदा युवाले गाउँमा भविष्य देख्न सकेनन् ।

घरदैलोमा उम्मेद्वार
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन र २०७९ मा भएको निर्वाचनमा नेपाली काँग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएकाले यो पटक कालिकोटको चुनावलाई जिल्लामा राजनीतिक दलको शक्ति परिक्षणको रुपमा पनि हेरिएको छ । यो पटकको चुनावमा दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएपछि कार्यकर्ताहरू मतदाता आ–आफ्नो पक्षमा मत तान्न क्रियाशील देखिन्छन् ।

उम्मेद्वारहरु बस्तीस्तरमा आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा मतदाता बटुल्न सक्रिय छन् । मतदाताहरू जहाँ छन्, सबै उम्मेदवार र पार्टीका कार्यकर्ताहरू उनीहरूलाई खोज्दै त्यही पुग्ने गरेका छन् ।

घरदैलोमा गएका उम्मेद्वारले मतदाता आकर्षण गर्न विभिन्न चटकहरु पनि गरिरहेका छन् । नेकपा माओवादीका उम्मेद्वार खड्कबहादुर विश्वकर्माले गाउँमा कहलिे स्याउ बगैचा अवलाृेकन त कहिल्यै मतदाताको खेतमा हलो जोतेको भिडिओहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

मतदाता आकर्षण गर्न मात्र होइन दलहरुबीच आरोप प्रत्यारोप र बिकासका काममा जस लिने होडबाजी पनि चलिरहेको छ ।

कालिकोटमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा र नेकपा माओवादीका उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा छन् । रास्वपाका प्रकाश न्यौपानेले पनि पुराना दलका उम्मेद्वारलाई चुनौती थपेका छन् । एक स्वतन्त्रसहित १० जना उम्मेद्वारले उम्मेद्वारहरुले जिल्लाभर घरदैलो र आमसभाहरु सञ्चालन गरिरहेका छन् । सबै दलहरुले आफुले जित्ने दावी गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  २ : १४ बजे