बाजुरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि बाजुरामा ७०० जना निर्वाचन कर्मचारी खटाइने भएको छ । निर्वाचन सम्पन्न गराउन सो सङ्ख्यामा कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयले आइतबार मतदान अधिकृतसहितका कर्मचारीको नामावली सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले हस्ताक्षरित गरेको सार्वजनिक सूचनामा ११८ मतदान केन्द्रमा ७०८ जना कर्मचारीको नामावली सार्वजनिक गरिएको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउनका लागि निर्वाचनका कर्मचारी छनोट गरी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
बाजुराका ७७ मतदान स्थलका ११८ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित कर्मचारी छनोट गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताएका छन् ।
बाजुरामा ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशील र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जसमा ४२ हजार ४३१ महिला, ४५ हजार ४२८ पुरुष र २ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।










प्रतिक्रिया