काठमाडौं । चौधरी ग्रुप तथा सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा उपभोक्ता मात्र नभई निर्माता राष्ट्रको रूपमा अघि बढ्नुपर्ने बताएका छन् । चौधरीले आफ्नो समूह सीजी ग्रुपले आगामी दिनमा एआई क्षेत्रमा लगानी र सहकार्य विस्तार गर्ने संकेत दिएका छन् ।
भारतका केही एआई कम्पनीहरूसँग साझेदारीको सम्भावना पनि उनले खुला राखेका छन् । दिल्लीमा ग्लोबल साउथका लागि पहिलोपटक आयोजित एआई इमप्याक्ट समिटमा सहभागी हुँदै चौधरीले नेपाललाई भारतको ‘प्राकृतिक साझेदार’को रूपमा चित्रण गरे । उनले नेपालको आईटी इकोसिस्टम तीव्र गतिमा विकास भइरहेको र नेपाली युवामा विश्वस्तरीय प्राविधिक क्षमता रहेको बताए ।
”नेपालसँग प्रतिभा छ । अब त्यो प्रतिभालाई एआई अनुसन्धान र आफ्नै मोडेल विकासमा केन्द्रित गर्नुपर्छ,’ चौधरीले भने । सम्मेलनमा भारतले ग्लोबल साउथका देशहरूलाई एआईको निर्णय प्रक्रियामा सहभागी गराउने सन्देश दिएको सन्दर्भमा चौधरीले नेपाल–भारतबीच प्रविधिगत सहकार्य विस्तार गर्नुपर्ने बताए । उनका अनुसार नेपाल पश्चिमी मुलुकका धेरै कम्पनीहरूको लागि टेक्नोलोजी ब्याकएन्ड बन्दै गएको छ, जसले भविष्यमा एआई क्षेत्रमा पनि साझेदारीको ठूलो सम्भावना देखाउँछ ।
‘नेपाल र भारतले एआई क्षेत्रमा मिलेर काम गर्न सक्छन् । आगामी ठूलो छलाङ एआई नै हुनेछ’ उनले स्पष्ट पारे । विकसित देशहरूले एआईलाई मुख्यतः गेमिङ र अटोमोबाइल क्षेत्रमा प्रयोग गरिरहे पनि दक्षिण एसियाली मुलुकहरूका लागि यसको प्राथमिकता फरक हुनुपर्नेमा उनको जोड छ । उनले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा एआईको प्रयोग गरी समाजको अन्तिम पंक्तिमा रहेका नागरिकसम्म प्रविधिको लाभ पुर्याउनुपर्ने धारणा राखे ।
एआईको भविष्य भनेको जनताको भविष्य भएको उनको भनाइ छ । वर्तमान युवा पुस्ता (जेनजी) परिणाममुखी र डिजिटल केन्द्रित रहेको उल्लेख गर्दै चौधरीले उनीहरूको आकांक्षा पूरा गर्न एआई महत्वपूर्ण माध्यम बन्न सक्ने बताए । चौधरीले नेपालले अब अनुसन्धान तथा विकास (आर एन्ड डी)मा लगानी गरी आफ्नै एआई विकास गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए ।










प्रतिक्रिया