Logo

मुख्य समाचार

इला शर्माको स्मृतिमा पुस्तक : साहसी र नेतृत्वदायी महिलाका रुपमा चित्रण



काठमाडौं । निर्वाचन आयोगकी पूर्वआयुक्त दिवङ्गत इला शर्माको स्मृतिमा ‘इला शर्मा नारी संघर्षका स्मृतिहरु’नाम पुस्तक सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले शर्मालाई सम्झँदै इला नेतृत्वदायी भूमिकामा आफूलाई स्थापित गरेर परिवर्तनको वाहकसम्म बन्न सफल व्यक्ति भएको बताइन् ।

उनले भनिन्,‘उनी जे पनि गर्न रुचाउने व्यक्ति थिइन् । म गर्न सक्दिन भन्ने केही पनि थिएन उनका लागि । आयुक्त हुँदा नेतृत्वदायी भूमिकामा आफूलाई स्थापित गरेर परिवर्तनको वाहकसम्म बन्न सफल भइन् । उनले गरेका योगदानहरु सँधै अमर छन् ।’

न्यायाधीश मल्लले संघर्षको स्मृतिमा इलालाई स्मरण गर्दा महिला भएकै कारणले उनले भोगेको चुनौती, उनीमाथि भएको आक्रोस्को अभिव्यक्ति र त्यसलाई सामना गर्ने साहसलाई पनि स्मरण गर्नुपर्ने धारणा राखिन् । ‘संघर्षको स्मृतिमा उनलाई स्मरण गर्दा महिला भएकै कारणले भोगेका चुनौती र अभिव्यक्ति र त्यसलाई सामना गर्ने साहस पनि स्मरण गर्नुपर्छ । महिला भएकै कारण आक्रोस्को अभिव्यक्ति व्यक्त गरिएको थियो । जुन यो पुस्तकमा लेखिएको छैन’ उनले भनिन् ।

त्यस्तै उनले इला शर्मा एक नाम अनेक आयाम भनेर पुस्तकमा समेटिएको बताउँदै साच्चीकै उनी एक नाम अनेक आयाम भएको बताइन् ।
‘इला शर्मा एक नाम अनेक आयाम भनेर पुस्तकमा लेखिएको रहेछ । साच्चीकै उनी एक नाम अनेक आयाम नै छिन् ।’ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले इलालाई वहुप्रतिभाको व्यक्ति भएको स्मरण गर्दै संकट, चुनौती र आक्रमणहरु सहेर अघि बढ्नसक्ने क्षमता भएको महिलाका रुपमा चित्रण गरे ।

२५५ पृष्ठ लामो उक्त पुस्तकमा इलाको फरक चरित्र, फरक योगदान र व्यवहारको कुरा समेटिएको छ । डा.अलका आत्रेय चूडालको सम्पादनमा तयार भएको पुस्तकको संयोजन अमृता लम्सालले गरेकी हुन् । अक्षर क्रिएसन नेपालले प्रकाशनमा ल्याएको पुस्तक चार भागमा विभाजित गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ४ : ४४ बजे