Logo

मुख्य समाचार

झुठो आश्वासन नदिने नेतालाई भोट दिनुहोस् : आशिष गजुरेल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेलले सिन्धुली क्षेत्र नम्बर २ का स्थानीयहरुलाई सम्बोधन गर्दै झुठो आश्वासन दिन नचाहेको र राज्यलाई प्रणालीगत रूपमा सबल बनाउन आफ्नो पार्टी अघि बढेको बताएका छन् ।

यातायात पूर्वाधारविज्ञ समेत रहेका गजुरेलले बालबालिकाले स्तरीय शिक्षा पाएका छन् कि छैनन । युवाले रोजगारी पाएका छन् कि छैनन् र बिरामी हुँदा सुलभ स्वास्थ्य सेवा पाएका छन् कि छैनन् भन्ने प्रश्न उठाउँदै वर्तमान अवस्थामा जनजीवनमा अनेकौँ समस्याहरू रहेको बताए । उनले सुरक्षित सडक र आधारभूत पूर्वाधारको अभावले पनि नागरिकलाई चुनौती दिएको उल्लेख गरे ।

उनले चुनावको बेलामा ‘चियाबारीदेखि केराबारीसम्म पिच सडक बनाइदिन्छु’ भन्ने झुटो आश्वासन दिने प्रवृत्तिको आलोचना गर्दै त्यस्ता काम संघीय संसदको दायरा बाहिर पर्ने र स्थानीय सरकारको जिम्मेवारी भएकाले यस्ता वचनमा विश्वास नगर्न आग्रह गरे । गजुरेलले उत्पादन, उद्योग र कृषि क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गर्दै भने,‘उद्योग खुल्छ, कृषि आधुनिकीकरण हुन्छ, रोजगारी बढ्छ र आम्दानी बढेपछि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिन्छ ।’

उनले पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने पार्टीको एजेन्डालाई प्राथमिकता दिएको जानकारी दिए । उनले सरकारी र निजी विद्यालय तथा अस्पतालबीच गुणस्तर समान बनाउने, सबै युवालाई रोजगारीको अवसर दिने र सुशासन कायम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । साथै, खानेपानी, सिँचाइ, मल आपूर्ति र सडकजस्ता स्थानीय समस्याहरूलाई क्रमबद्ध रूपमा प्राथमिकतामा राखेर समाधान गर्ने योजना अघि बढाइने बताए ।

गजुरेलले भने, ‘हामी झुटो आश्वासन दिन चाहँदैनौँ, जे गर्न सक्छौँ, त्यही भन्छौँ । सिस्टम निर्माण गरेर मात्रै दीर्घकालीन विकास सम्भव छ ।’
साँचो बोल्ने, क्षमतावान र स्पष्ट धारणा भएका मान्छेलाई मात्र जिताउनु पर्ने बताउँदै उनले आफुहरुले सिन्धुलीको समस्या लिएर काठमाडौँमा बजेट माग्ने र त्यसपछि स्थानीय निकायमार्फत आवश्यक काम सम्पन्न गर्ने बताए ।

उनले पार्टीका एजेन्डा अनुसार बालबालिका र विद्यार्थीको शिक्षा, सिप विकास र रोजगारी सिर्जना गर्न काम गरिएको उदाहरण प्रस्तुत गरे । उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा काठमाडौँ महानगरपालिकामा छात्रवृत्ति, सिप मेला र रोजगारका अवसर सिर्जना गरिएका काम उल्लेख गर्दै त्यसलाई राष्ट्रिय स्तरमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गजुरेलले स्थानीयवासीलाई आश्वासन दिँदै भने, ‘हामी तपाईंहरुको सुख–दुखमा सधैं रहनेछौँ । जिते पनि हारे पनि यहाँ आउनेछौँ, छलफल गर्नेछौँ र क्रमबद्ध रूपमा समस्याहरू समाधान गर्नेछौँ ।’ उनले मतदातालाई दायाँ–बायाँ नसोचेर घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सिन्धुली–२ मा जिताउनुपर्ने जोड दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ३ : २२ बजे