Logo

Breaking News 1

आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण


८ फाल्गुन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । पछिल्लो समय आत्महत्या (सुसाइड) सम्बन्धी घटनाहरू बढ्दो रूपमा सार्वजनिक भइरहेका छन्। मानसिक तनाव, आधुनिक जीवनशैली, सामाजिक दबाब र मनोवैज्ञानिक समस्या यसका प्रमुख कारणका रूपमा देखिन थालेका छन् ।

नेपालमा दैनिक औसत १६–१८ जना सम्मले आत्महत्या गर्ने गरेको तथ्यांक छ । प्रहरीको रिपोर्ट अनुसार वार्षिक रूपमा करिब ६ हजार देखि ७ हजार भन्दा बढी आत्महत्याका घटना दर्ता हुने गरेका छन्।

विशेषज्ञहरूका अनुसार आत्महत्या केवल व्यक्तिगत कमजोरी होइन, गम्भीर मानसिक स्वास्थ्य संकटको संकेत हो । परामर्शदाता मनोचिकित्सक डा. प्रतिक बछारका अनुसार आत्महत्या मनोचिकित्सकीय आपतकालीन अवस्था भएकाले यसको वैज्ञानिक मूल्याङ्कन र उपचार अनिवार्य हुन्छ।

नेपाल न्यूज बैंक सँगको कुराकानीमा उनले अधिकांश आत्महत्याका घटनामा कुनै न कुनै मानसिक रोग संलग्न हुने बताए। उनका अनुसार डिप्रेसन, एन्जाइटी डिसअर्डर, पर्सनालिटी डिसअर्डर, लागू पदार्थको प्रयोग तथा साइकोटिक अवस्थाहरू आत्महत्याको जोखिम बढाउने प्रमुख कारण हुन् ।

डा. बछारका अनुसार आत्महत्याको सोच मानिसले चाहेर ल्याउने होइन, यो मानसिक अवस्थाबाट स्वतः उत्पन्न हुन्छ । ‘कसैलाई ‘नसोच’ भनेर रोक्न सकिँदैन, जसरी बिरामीलाई ‘नखोक’ भनेर खोकी रोक्न सकिँदैन,’ उनले भने।

उनले पछिल्लो समय आत्महत्याका घटना बढी देखिनुको एउटा कारण रिपोर्टिङ वृद्धि पनि भएको बताए । पहिले सार्वजनिक नहुने धेरै घटना अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत तुरुन्त सार्वजनिक हुने भएकाले संख्या बढेजस्तो देखिएको उनको भनाइ छ। ,तर उनले आत्महत्याका घटनालाई अत्यधिक भावनात्मक वा नाटकीय ढंगले प्रस्तुत गर्दा यसले नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिए।

विशेषगरी चर्चित व्यक्तिसँग जोडिएका घटनाहरूले आत्महत्यालाई ग्लोरिफाइ गर्ने जोखिम बढाउन सक्ने उनले बताए। उनका अनुसार आधुनिक जीवनशैली, बढ्दो प्रतिस्पर्धा, आर्थिक दबाब, डिजिटल प्लेटफर्मको प्रभाव र सामाजिक तुलना संस्कृतिले मानसिक तनाव बढाएको छ। यसले आत्महत्याको जोखिम पनि वृद्धि गरिरहेको छ।

डा. बछारले आत्महत्याको सोच आउने व्यक्तिलाई तुरुन्त विशेषज्ञ भेटेर विस्तृत मनोचिकित्सकीय मूल्याङ्कन गराउन सुझाव दिए। यस्तो मूल्याङ्कनमा बिरामीको मानसिक अवस्था, स्वास्थ्य पृष्ठभूमि, जीवनशैली, तनावका कारण तथा अन्य रोगको स्थिति अध्ययन गरिन्छ। त्यसपछि मात्रै औषधि वा मनोचिकित्सा तय गरिने उनले बताए।

उनका अनुसार सबै बिरामीका लागि एउटै उपचार उपयुक्त हुँदैन। बिरामीको प्रोफाइल, अन्य स्वास्थ्य समस्या, निन्द्रा अवस्था र जीवनशैलीका आधारमा उपचार फरक–फरक हुन्छ। त्यसैले अनलाइन सल्लाहका आधारमा औषधि सेवन गर्नु उपयुक्त नहुने उनले स्पष्ट पारे।

मानसिक रोग लाजको विषय नभई उपचारयोग्य अवस्था भएको उल्लेख गर्दै उनले समयमै उपचार पाए आत्महत्या रोक्न सकिने बताए। परिवार, समाज र सञ्चारमाध्यमले संवेदनशील ढंगले व्यवहार गरे मानसिक स्वास्थ्य संरक्षणमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ। प्रमिला कार्की / नेपाल न्यूज बैंक

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ६ : ४७ बजे