काठमाडौं। आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दोलखाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्री विशाल खड्का उम्मेदवार रहेका छन् । यो पार्टीको चुनाव चिन्ह तारा रहेको छ ।
वागमति प्रदेशसभाको २०७४ सालमा भएको निर्वाचन जितेर वन तथा वातावरणमन्त्री भएका उनले सांसद र मन्त्री हुँदा गरेका कामलाई दोलखावासीले अहिले पनि सम्झिइरहेका छन् । ‘हिजोको दिनमा पनि हाम्रो जिल्लामा पार्टीमा कुनै समस्या थिएन, जसले टिकट पाए पनि पार्टी पंक्ति एकबद्ध भएर लाग्ने पहिलेको नै सल्लाह हो’ पार्टीकै एक नेताले भने ‘पार्टीले र उहाँले गरेका राम्रा कामलाई लिएर मत माग्न जाने हो, हामीले अरु पार्टीको जस्तो कसैलाई गाली गरेर आफूचाहिँ ठूलो र राम्रो नभन्ने भनिसकेका छौं ।’ युवा नेता खड्काको सरल स्वभाव र मतादाता तथा शुभचिन्तकसँगको व्यवहार पनि उनको थप मत आउने आधार भएको स्थानीयले नै बताएका छन् । ‘म पार्टीको उम्मेदवार हुँ तर पनि यसो हेर्दा जिल्लाकै साझा उम्मेदवारजस्तो भएको छु’ उम्मेदवार खड्काले भने ‘मैले हिजोको दिनमा गरेका कामबारे धेरै व्याख्या गरिहनुपर्ने अवस्था छैन किनभने प्रायः सबैलाई थाहा छ, जिल्लाको थप विकासका लागि मेरो उम्मेदवारी हो ।’ पार्टीको मत पनि राम्रो भएको भन्दै ती नेताले थपे ‘अब सबै मान्छे खुलेर हिँड्ने कुरा पनि भएन, गोप्य मतदान हो ‘तपाइलाई चाहिँ दिन्छौं’ भन्ने पनि धेरै छन् ।’ सांसद र मन्त्री हुँदा पनि पटकपटक जिल्लावासीसँग समन्वय र सहकार्य गर्ने गरेकाले पनि उनी जनताको मान्छेको रुपमा परिचित छन् । ‘मैले पार्टीगत रुपमा कहिल्यै पनि कसैलाई विभेदको नजरले हेरिन, सबैजसो वडामा विकासका योजना लानु र लानका लागि पहल गर्नु नै यसको राम्रो उदाहरण हो’ उनी भन्छन् ‘कतिपय काम गर्दागर्दै बजेट र समय पुगेन होला, तर जुन योजना सुरु गरेको थिएँ त्यसलाई सम्पन्न गर्ने कुरामा सधैं लागिरहेको छु ।’ दुइवटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको दोलखामा ७४ वटा वडा छन् । दोलखामा प्रतिनिधिसभाको एउटै मात्र निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभाको २०७९ सालको निर्वाचनमा पनि सोही पार्टीका गंगा कार्की निर्वाचित भएका थिए ।
खड्काले प्रदेशमा मन्त्री हुँदा जिरी तालका लागि झण्डै ४ अर्ब रुपैंयाँको बहुआयामिक योजना सुरु गरेका थिए । जसबाट बिजुली उत्पादनसँगै त्यसलाई पर्यटकीय गन्तब्य बनाउने योजना रहेको थियो । उनले कालिञ्चोक जाने बाटोका लागि पनि आफ्नो तर्फबाट पहल गरे । उनले ‘हनुमन्ते डाँडाँ’ को ऐतिहासिकता जोगाउने र त्यसलाई थप चर्चा गर्नका लागि पनि योजना बनाएर बजेट विनियोजन गरेका थिए । हनुमन्ते डाँडाँ यहाँको मात्रै नभएर जिल्लाकै ऐतिहासिकता बोकेको ठाउँ हो । खड्काले एकपटक फेरि काम गर्ने अवसर दिन सबैलाई आग्रह गरेका छन् । ‘मलाई राजनीति गरेर कमाउनु छैन, मेरो एउटै स्वार्थ भनेको जिल्लाको विकास गर्ने हो र जनताको जनजीविकामा सकारात्मक प्रभाव पार्ने हो’ उनले भने ‘राजनीतिमा कसैले पनि औंलो ठड्याउने काम गरेको छैन, जति सकें सहयोग नै गरें, अब पनि मबाट कुनै गलत काम हुने छैन भन्नेमा भनिरहनु पर्दैन ।’
६ फाल्गुन २०८२, बुधबार
0
Shares








प्रतिक्रिया