काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष परिषद् सदस्य एवम आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार दुर्गा सोबले मिडियाबाजी र पैसा खर्च गरेर चुनाव जित्ने प्रबृति गलत भएको बताएकी छिन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले निर्वाचनमा पूरानो परम्परालाई तोड्दै मुद्दा केन्द्रीत चुनावी अभियान संचालन गर्नुपर्ने पनि बताइन् । मिडियाबाजी गरेर र भीड उतारेर चुनाव जितिन्छ भन्ने पूरानो भाष्यको अन्त्य गर्नुपर्ने पनि बताइन् ।
‘निर्वाचन आएको छ, हामी घरदैलो अभियानमा छौं । हाम्रा मुद्दाहरु मतदाता समक्ष राखिरहेका छौं । तर निर्वाचनमा गलत प्रबृत्ति स्थापित हुँदै गएको छ । मिडियाबाजी गर्ने, भीड उतार्ने र हल्लाखल्ला गर्ने प्रबृत्ति विकसित गरेर चुनाव जितिन्छ भन्ने भ्रमबाट हामी मुक्त हुनुपर्छ,’ उनले अगाडि भनिन्,‘तर हामी अलिक पृथक छौं । एजेन्डाले जनताको मन जित्न चाहन्छौं ।’
आफ्नो पार्टीका उम्मेदवारहरु पैसा खर्च गर्नसक्ने अवस्थामा नरहेकाले जनताहरुले नै सहयोग गरिरहनु भएको पनि उनको भनाइ छ । आफ्नो पार्टीमा बहुसंख्यक उम्मेदवारहरु जेनजी उमेर पुस्ताको रहेको पनि उनले जानकारी दिइन् । ‘जेनजी आन्दोलन ऐतिहासिक बन्यो । विश्वलाई नै चकित पार्ने किसिमले ठुलो सन्देश प्रवाह गर्ने किसिमको रहयो । त्यसैले हामीले जेनजी पुस्तालाई प्राथमिकता दिएका हौं,’ उनको भनाइ थियो ।
पछिल्ला बर्षहरुमा खर्चिलो निर्वाचन प्रणालीका कारण धेरै राजनीतिक दलहरु र तिनका कार्यकर्ताहरुलाई निराश तुल्याएको उनको दुखेसो छ । ‘हामी सानातिना भेलाहरु मात्र गरिरहेका छौं । सोसल मिडिया र घरदैलोमार्फत हाम्रा मुद्दाहरु बुझाइरहेका छौं । सभ्य र भब्य तरिकाले प्रश्तुत भएका छौं, जसलाई मतदाताले रुचाइदिनुभएको छ । तर पपुलिजम तरिकाले चुनावी अभियान संचालन गरिएकोप्रति हाम्रो आपत्ति छ,’ उनले प्रष्ट पारिन् ।
यतिबेला देश संकटमा रहेकाले संकटबाट मुक्त दिनेगरी आफूहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरेको उनले जानकारी दिइन् । ‘यतिबेला देश विषम परिस्थितिमा गुज्रिरहेको छ । जनतामा निराशा छ । अर्थतन्त्र गिर्दो अवस्थामा छ । बेरोजगारी दर बढ्दो छ । युवाहरुले देशमा सपना देख्न छाडिसकेको अवस्था छ । यस्ता मुद्दालाई चिर्नेगरी घोषणा पत्र ल्याएका छौं,’ सोबले भनिन् ।
नेपालमा अधिकांश राजनीतिक दलहरुले ०४८ सालदेखि लेखेका घोषणा पत्रलाई कार्यान्वयन गर्न नसकेको, जनताले पत्याउन छाडेकाले साना तर अर्थपूर्ण मुद्दाहरुलाई आफूहरुले समेटेको उनको दाबी छ ।
आफ्नो पार्टीमा पूर्वप्रधानमन्त्री भिजनरी नेता डा.बाबुराम भट्टराई रहेको उल्लेख गर्दै उनले देश बदल्ने संकल्पसहितको घोषणा पत्र तयार गरेको उनले बताइन् । ‘यतिबेला अर्थ राजनीति, सामाजिक मुद्दाहरु, रोजगारीका कुराहरु, निर्वाचन प्रणालीकै मुद्दा पनि छ । विभिन्न जातजाति, भाषाभाषी, संस्कार–संस्कृति र सम्पदाहरुको जगेर्नाका कुराहरु हामीले समेटेका छौं,’ उनले भनिन् ।
यस पटक विशेष निर्वाचन भएकाले परिस्थिति फरक रहेको र जनताको मनस्थिति पनि भिन्न रहेको उनको बुझाइ छ । ‘प्रगतिशील लोकतन्त्र उन्नतिशील राष्ट्र’ नारा नै बनाएर इन्द्रेणी राष्ट्रवादको परिकल्पना गरेर आफूहरु अगाडि बढेको सोबले उल्लेख गरिन् । पूराना पार्टी र नयाँ भनिएका वैकल्पिक पार्टीहरुबीच धेरै भिन्नता रहेको उल्लेख गर्दै उनले ह्वीमका कारण समाजलाई विभाजित गर्न नहुने र इमान्दार भएर प्रश्तुत हुनुपर्नेमा उनको जोड छ ।
‘मेरो सन्दर्भमा कुरा गर्नुहुन्छ भने नेपाली समाजलाई एकदमै सुक्ष्म तरिकाले बुझेको छु । लडेको मान्छे आउनुपर्छ भन्नेमा छु । समाजको पत्र पत्र केलाएर अध्ययन गरेकाले भिजन पनि दिन सक्छु जस्तो लाग्छ ।’
नेपालको संविधान उत्कृष्ट रहेको उल्लेख गर्दै उनले उचित रुपमा कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरिन् । ‘संविधान जारी भएपछि हामीहरुले डे वानदेखि नै संशोधनको कुराहरु उठाइरहेका छौं । संविधान गिलासभरि छ तर आधा गिलास खाइरहेका छौं, यसलाई पूर्णता दिन धेरै गर्नुपर्नेछ । थुप्रै शासकीय स्वरुपका कुरा, केही समुदायका मुद्दाहरुलाई राम्रोसँग सम्बोधन गर्न सकेको छैन । धारा ४२, धारा २४, ३८ कार्यान्वयन भएका छैनन्। जसका कारण जनतामा असन्तुष्टि बढेको छ । धारा १८ले समानता भनेको छ तर समानात कहाँ छ ?’ उनले अगाडि भनिन्,‘शासकीय स्वरुप, महिलाका मुद्दाहरु कार्यान्वयन भएका छैनन् । त्यसैले संविधान आधा गिलास मात्र छ, अब पूर्ण गर्नुपर्छ ।’
प्रगतिशील लोकतान्त्रिक पार्टीले देशभर ८७ ठाउँमा उम्मेदवार उठाएको जानकारी दिंदै उनले पार्टीले छोटो समयमा उल्लेख्य प्रगति गरेको दाबी पनि गरिन् । आर्थिक रुपमा आफ्नो पार्टी कमजोर रहेको जनाउँदै उनले जनताले यस्ता कुराहरु बुझ्न नसकेको बताइन् ।
‘जनताले पनि केही कुरा बुझेका छैनन् । अलिकति हाइफाई गर्ने, पैसा खर्च गर्ने वा खर्च दिनसक्नेलाई जिताइदिन्छन्,’ उनले भनिन् । पूराना पार्टीहरुको इतिहास र योगदान गौरपूर्ण भएपनि सत्तामा पुगेपछि जनताको भावना अनुसार काम गर्न नसकेको उनले चिन्ता व्यक्त गरिन् । पूराना पार्टी बदलिनुपर्ने र नेताहरु सच्चिएर आउनुपर्ने उनको भनाइ छ ।
डा.बाबुराम हाम्रो अभिभावक
आफ्नो पार्टीको संरचना पूराना पार्टीहरुको भन्दा पृथक र समावेशी रहेको उल्लेख गर्दै उनले सोही कारण पाँच जनाको अध्यक्ष परिषद् निर्माण गरेको बताइन् । ‘हामी अरुभन्दा फरक छौं । अन्य पार्टीहरुले एक जनालाई देवत्वकरण गरिरहेका छन् । हामी त्यसो गर्न चाहन्नौं । हामी संगठनमा योगदान गरेका व्यक्तिलाई जिम्मेवारीमा राख्न चाहन्छौं । त्यसकै नमूना हो हाम्रो, पूरानो परम्परा तोड्न खोजेका हौं,’ उनले भनिन् ।
कुनै समय उज्वल थापाले एउटा वैकल्पिक शक्ति निर्माण गरेको स्मरण गर्दै सोबले डा.बाबुराम भट्टराईलाई एक जना प्रणेता मानेको बताइन् । ‘उहाँसँग एउटा भिजन छ । नेपाललाई कस्तो बनाउने भन्ने खाका छ । उहाँ हाम्रो पार्टीको संरक्षक हुनुहुन्छ । उमेरले उहाँ अलि पाको हुनुहुन्छ । सोच र विचानर पाको भएको छैन्, युवा जोश छ । उहाँ नेतृत्व हस्तान्तरण र पूस्तान्तणको पक्षमा हुनुहुन्छ त्यसैले सक्रिय नेतृत्व सम्हाल्ने पक्षमा हुनुहुन्न,’ उनले अगाडि भनिन्,‘ विचारले उहाँ युवा हुनुहुन्छ । त्यसैले उदाहरण बन्न चाहनुहुन्छ ।’
डा.भट्टराई आफै विचार निर्माण गर्नसक्ने भिजन भएको नेता भएकाले उहाँलाई आफूहरुले अभिभावक मानेको पनि उनले जानकारी दिइन् । आसन्न निर्वाचनमा नयाँ भर्सेस पुरानोबीच प्रतिस्पर्धा भइरहेकाले स्पष्ट विचार बोकेको, इमान्दार र त्यागी उम्मेदवारलाई भोट दिन उनको आग्रह पनि छ ।










प्रतिक्रिया