अत्तरिया । नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कैलालीका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोरख बहादुर विष्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । एक कार्यक्रमकाबीच उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्रमा उनले राष्ट्रवाद, लोकतन्त्र र समाजवादका मूल्य मान्यतामा आधारित समावेशी विकास, सुशासन र सामाजिक न्याय आफ्नो प्राथमिकतामा रहने बताएका छन् ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विष्टले कैलाली क्षेत्र नम्बर ४ को भौगोलिक विकटता, बेरोजगारी, गरिबी, पूर्वाधार अभाव, शिक्षा र स्वास्थ्य क्षेत्रका चुनौतीलाई सम्बोधन गर्ने स्पष्ट कार्य योजना रहेको बताए । उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय, सहकार्य र सहभागितामार्फत दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कृषि, पशुपालन तथा सहकारी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उनले आधुनिक कृषि प्रणाली, सिँचाइ विस्तार, मल–बीउको सहज आपूर्ति र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख गरे । कृषकलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणमा जोड्दै ग्रामीण अर्थतन्त्र मजबुत बनाइने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्न अनुदान, सहुलियत कर्जा र प्राविधिक तालिमको व्यवस्था गरिने प्रतिबद्धतामा समेटिएको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै उनले सामुदायिक विद्यालयको स्तरोन्नति, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र विद्यालय–कलेजमा डिजिटल पूर्वाधार विकास गर्ने योजना अघि सारेका छन् ।
प्रत्येक वडामा निःशुल्क वाईफाइ जोन, ई–लाइब्रेरी तथा डिजिटल सीप तालिम सञ्चालन गरिने उल्लेख गरिएको छ । साथै, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र विशेष सहयोग कार्यक्रम सञ्चालन गरिने उनले बताए । स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य चौकी तथा अस्पतालमा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सुधार र विशेषज्ञ सेवाको पहुँच बढाउने योजना समेटिएको छ । ग्रामीण भेगमा नियमित स्वास्थ्य शिविर सञ्चालन र आपत्कालीन सेवाको सुदृढीकरणमा जोड दिइएको छ ।
उद्योग, लगानी र रोजगारी सिर्जनालाई अर्को महत्त्वपूर्ण एजेन्डा बनाउँदै विष्टले स्थानीय स्रोत–साधनमा आधारित साना तथा मझौला उद्योग प्रवर्धन गर्ने उनले बताएका छन् । औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण, लगानीमैत्री वातावरण सिर्जना र युवालाई स्वरोजगारीमुखी बनाउन सहुलियत कर्जा कार्यक्रम ल्याइने उनको प्रतिबद्धता छ । विदेश पलायन भएका युवाको सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने वातावरण तयार पारिने उनले उल्लेख गरे ।
सामाजिक न्याय र समावेशितालाई विशेष महत्त्व दिँदै दलित, आदिवासी जनजाति, थारू, मुस्लिम, महिला, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न लक्षित कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख छ ।










प्रतिक्रिया