काठमाडौं । उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका श्री गुरुङ(श्रीराम) चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् । घरदैलो, भेटघाट र अन्तरक्रियामा सक्रिय देखिएका उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा गुरुङले पछिल्लो समय मतदाता देशको भविष्यप्रति चिन्तित देखिएको बताए । ‘घरदैलोमा जाँदा धेरै प्रश्न आउँछन् । देशको अवस्था, रोजगारी, आर्थिक भविष्यबारे चासो देखिन्छ । प्रश्नहरूको जवाफ दिँदा मतदातामा केही आशा पलाएको महसुस गरेको छु,’ उनले भने ।
उनले विषम परिस्थितिमा हुन लागेको निर्वाचनलाई परिणाममुखी बनाउन आफू प्रतिबद्ध रहेको बताए । काठमाडौं–५ मा यसपटक प्रतिस्पर्धा रोचक देखिएको छ । गुरुङका प्रतिद्वन्द्वीहरूमा प्रदीप पौडेल (नेपाली कांग्रेस), ईश्वर पोखरेल (नेपाल कम्युनिष्ट पार्टी एमाले) र कमल थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) बाट प्रतिद्वन्द्वी छन् । यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिसकेका गुरुङ यसपटक पार्टीको औपचारिक साथसहित मैदानमा उत्रिएका छन् ।
‘म सँग मेरै पुरानो प्रतिद्वन्द्वीहरू हुनुहुन्छ । कांग्रेसबाट प्रदीप पौडेल हुनुहुन्छ भने एमालेबाट ईश्वर पोखरेल तथा राप्रपाबाट कमल थापा प्रतिद्वन्द्वी हुनुहुन्छ । पहिला मैले स्वतन्त्र रुपमा चुनावमा प्रतिस्पर्धा गरेको थिए भने अहिले म उज्यालो नेपाल पार्टीबाट प्रतिस्पर्धामा छु । अहिले पार्टी छ, साथीभाइहरु धेरै भएका छन् । त्यसैले तयारीका साथ अगाडि बढेको छु । क्षेत्रगत रुपमा मलाई धेरै राम्रो जानकारी छ, अनुभव छ । त्यसैले यसपटक जित्नेमा ढुक्क छु,’ उनले भने ।
गुरुङले आफ्नो मुख्य एजेण्डा रोजगारी सिर्जना र आर्थिक रूपान्तरणलाई बनाएका छन् । विकास निर्माणका पूर्वाधार महत्त्वपूर्ण भएपनि त्यसअघि रोजगारी र व्यवसायीलाई संरक्षण गर्ने नीति आवश्यक रहेको उनी बताउँछन् ।
उनले भने, ‘पहिलो कुरा आफ्नो ऐजेण्डाहरुमा दत्तचित्त हुनुपर्यो । देश परिवर्तन गर्ने व्यक्तिलाई साथ दिनुपर्छ भनेर नै म पार्टीमा आवद्ध भएर चुनावमा होमिएको हुँ । विकास निर्माणको कुराहरु छँदैछन् । तर त्यो भन्दा अगाडि रोजगारी, व्यवसाय चाहियो । व्यवसायीहरुले राज्यले संरक्षण गर्नुपर्यो । देशलाई समृद्धि चाहियो, आर्थिक रुपान्तरण चाहियो । बढी राजनीतिक कुरा मात्रै गरेर हुँदैन । क्षेत्रगत रुपमा खासगरी रोजगारी र समृद्धिको कुरा हो । आर्थिक रुपान्तरणको कुरामा म दत्तचित्त छु, कटिवद्ध छु र म क्लियर छु ।’
लामो व्यवसायिक अनुभव आफूलाई अन्य राजनीतिक प्रतिस्पर्धीभन्दा फरक बनाउने आधार भएको उनको तर्क छ । ‘मैले जीवनभर व्यवसाय र रोजगारीको क्षेत्रमा काम गरेको छु । रोजगारी नदिएका, व्यवसाय नगरेका नेताले रोजगारी दिने कुरा गर्दा जनतालाई भ्रममा पार्ने काम मात्रै हुन्छ,’ उनले टिप्पणी गर्दै भने ।
पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै गुरुङले नीतिगत सुधारमार्फत ठूलो सम्भावना उजागर गर्न सकिने बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल पर्यटन ऐन संशोधनको आवश्यकता औंल्याए । वैदेशिक लगानी, प्रविधि र सहकार्यका लागि ‘ओपन डोर’ नीति अपनाए नेपालले वार्षिक ३५ लाख पर्यटक भित्र्याउन सक्ने उनको विश्वास छ ।
उनले भने, ‘म त जिन्दगीभर रोजगारी र व्यवसायीको बारेमा बुझेको जानेको व्यक्ति हुँ । नीतिगत रुपमा राम्रो तरिकाले प्रतिनिधित्व गर्न पनि सक्छु । यदी सरकारमा गएभने पनि जस्टिफाई भूमिका निर्वाह गर्न सक्छु । पर्यटन क्षेत्रको कुरा गर्दा नागरिक उड्यन प्राधिकरण ऐनको संशोधन, नेपाल पर्यटन ऐनको संशोधन लगायतका विभिन्न ऐनहरु संशोधन, गर्नुपर्ने छ । त्यो ऐनहरुले हामीले संशोधन गर्ने वित्तिकै सहकार्य, वैदेशिक लगानी, प्रविधि लगायतका क्षेत्रहरुलाई ढोका खुला गर्नुपर्नेछ । त्यसले सम्भावना बढ्छ । यो देशमा ३५ लाख पर्यटक भित्र्याउने योजना नीतिगत रुपमा ढोका खोल्न त्यसमा लाग्ने छु ।’
यसैगरी आफूले परिणाममुखी राजनीति गर्न चाहेको उनले बताए । ‘म परिणाममुखी राजनीति गर्न चाहन्छु । नीतिगत सुधारमार्फत रोजगारी सिर्जना, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी प्रतिनिधित्व गर्ने लक्ष्य राखेको छु,’ गुरुङले भने ।
लामो व्यवसायिक अनुभव रहेको दाबी गर्दै उनले आफूले रोजगारी सिर्जना गरेको र सामुदायिक संस्थाहरूसँग काम गरेको अनुभवका आधारमा नीतिगत तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए । सरकारमा जाने अवसर पाएँ भने न्यायोचित भूमिका निर्वाह गर्न सक्ने उनले उल्लेख गरे ।
गुरुङले आफू परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं–५ र देशका लागि उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन् । काठमाडौं–५ का मतदातासँग आशा र अपेक्षाको संवाद गर्दै गुरुङ यतिबेला आफूलाई ‘अनुभव, एजेण्डा र क्षमताको संयोजन’ का रूपमा प्रस्तुत गरिरहेका छन् । निर्वाचनको परिणामले मतदाताले उनको दाबीलाई कत्तिको स्वीकार गर्छन् भन्ने टुंगो लगाउनेछ ।










प्रतिक्रिया