Logo

समाचार

आधुनिकताका नाममा परम्परागत संस्कृति विर्सनु हुँदैन



काठमाडौं। आजको तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा एउटा गम्भीर प्रश्न बारम्बार उठ्ने गरेको छ, के परम्परागत संस्कृति युवा पुस्तामाझ हराउँदै गएको हो ?
सूचना–प्रविधिको विस्तार, विश्वव्यापीकरण, बसाइँसराइ, शहरीकरण र आधुनिक जीवनशैलीको प्रभावले समाजको स्वरूप बदलिँदै जाँदा हाम्रो सांस्कृतिक पहिचान कति सुरक्षित छ भन्ने चासो स्वाभाविक रूपमा बढेको छ । विशेषगरी युवापुस्ता, जो परिवर्तनका संवाहक मानिन्छन्, उनीहरू परम्परागत मूल्य, भाषा, रीतिरिवाज र संस्कारबाट टाढिँदै गएका त होइनन् भन्ने बहस अहिले समाजका विभिन्न तहमा भइरहेको छ ।
संस्कृति भनेको केवल चाडपर्व मनाउने परम्परा मात्र होइन, यसले भाषा, भेषभूषा, कला, संगीत, नृत्य, जीवनशैली, सामाजिक सम्बन्ध, धार्मिक आस्था र सामुदायिक अभ्यासहरूलाई समेट्छ । नेपाल जस्तो बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देशमा संस्कृति नै पहिचानको मूल आधार हो तर पछिल्लो समय विशेषगरी शहर केन्द्रित युवापुस्तामा परम्परागत अभ्यासप्रति चासो घट्दै गएको देखिन्छ । धेरै युवा आफ्नो मातृभाषाभन्दा नेपाली वा अंग्रेजी भाषामा सहज महसुस गर्छन् । कतिपय समुदायमा नयाँ पुस्ताले मातृभाषा बोल्न नजान्ने अवस्था समेत सिर्जना भएको छ । भाषा हराउनु भनेको केवल शब्द हराउनु होइन, त्यससँगै इतिहास, लोककथा, मौखिक परम्परा र सामुदायिक स्मृति पनि हराउनु हो ।
त्यस्तै, चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएको छ । पहिले धार्मिक र सांस्कृतिक अर्थका साथ मनाइने पर्वहरू अहिले धेरैका लागि औपचारिकता वा सामाजिक भेटघाटको माध्यम मात्र बन्न थालेका छन् । दशैं, तिहार, इन्द्रजात्रा, गाईजात्रा, ल्होसार, उधौली–उभौली जस्ता पर्वहरूको गहिरो सांस्कृतिक सन्देशभन्दा पनि रमाइलो, घुमफिर र सामाजिक सञ्जालमा तस्वीर हाल्ने प्रवृत्ति बढी देखिन्छ ।
यसले पर्वको आत्मा कमजोर भएको जस्तो अनुभूति गराउँछ । परम्परागत भेषभूषा पनि विशेष अवसरमा मात्र सीमित हुँदै गएको छ । दैनिक जीवनमा आधुनिक वा पाश्चात्य पहिरनको प्रभाव स्पष्ट देखिन्छ ।
तर शिक्षा र रोजगारीको खोजीमा हुने बसाइँसराइले पनि संस्कृतिमा असर पारेको जस्तो देखिन्छ । गाउँबाट शहर, र देशबाट विदेश जाने युवाहरू नयाँ परिवेशमा घुलमिल हुँदै जाँदा आफ्नो सांस्कृतिक अभ्यासमा परिवर्तन ल्याउँछन् । विदेशी संस्कृतिको प्रभाव, जीवनशैली र मूल्य–मान्यताले उनीहरूको सोचाई परिवर्तन गरेको हुन्छ ।
यो परिवर्तन स्वाभाविक भए पनि यदि आफ्नै जरा बिर्सिने अवस्था आयो भने सांस्कृतिक निरन्तरतामा समस्या देखापर्न सक्छ । विशेषगरी परम्परागत सीप र कलामा युवापुस्ताको आकर्षण घट्नु चिन्ताको विषय बनेको छ । माटोका भाँडा बनाउने कुमाल, काठ कुँद्ने शिल्पी, धातुकला, ढाकाटोपी बुन्ने कारीगर जस्ता परम्परागत पेशाहरूमा नयाँ पुस्ताको संलग्नता न्यून हुँदै गएको छ । यसले दीर्घकालमा यी सीपहरू लोप हुने जोखिम बढाएको छ ।
यो एउटा पाटो भयो भने फेरि अर्को पाटोमा यस्तो युवा समूह पनि छ जसले संस्कृति र परम्परा जोगाउन लागि परेका छन् । उनीहरु पुर्खाले दिएको सम्पत्ती भावी पुस्तासम्म पु¥याउनु पर्छ भन्ने मान्यता राख्ने गरेको पाइन्छ ।
परिवर्तनलाई सधैं नकारात्मक रूपमा मात्र हेर्न मिल्दैन । संस्कृति स्थिर वस्तु होइन, यो समयसँगै परिवर्तनशील हुन्छ । आजका युवाहरूले परम्परालाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास पनि गरिरहेका छन् । लोकदोहोरी र देउडा जस्ता परम्परागत संगीत आधुनिक वाद्यवादनसँग मिसिएर नयाँ स्वादमा प्रस्तुत भइरहेका छन् । सामाजिक सञ्जालमार्फत युवाहरूले आफ्नो समुदायको संस्कृति प्रचार–प्रसार गरिरहेका छन् । विभिन्न सांस्कृतिक महोत्सव, कला प्रदर्शनी र नाटकहरूमा युवापुस्ताको सक्रिय सहभागिता पनि देखिन्छ ।
कतिपय युवा आफ्नो मातृभाषा संरक्षणका लागि कक्षा सञ्चालन गरिरहेका छन्, डिजिटल माध्यमबाट लोककथा र गीतहरू अभिलेखीकरण गरिरहेका छन् । यसबाट संस्कृति पूर्ण रूपमा हराउँदै गएको होइन, बरु नयाँ स्वरूपमा रुपान्तरण हुँदै गएको हो कि जस्तो पनि देखिएको छ ।
यद्यपि, यदि परिवार र समाजले संस्कार हस्तान्तरण गर्ने जिम्मेवारी बेवास्ता गरे भने सांस्कृतिक दूरी बढ्न सक्छ । संस्कृतिको संरक्षण केवल सरकारी नीतिले मात्र सम्भव हुँदैन, यसको मूल आधार परिवार र समुदाय हो । बालबालिकालाई सानैदेखि आफ्ना परम्परा, भाषा र इतिहासबारे जानकारी गराउनु आवश्यक हुन्छ । विद्यालय पाठ्यक्रममा स्थानीय इतिहास र संस्कृतिलाई समेट्ने प्रयास हुनुपर्छ । सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय तह र राज्यको भूमिका पनि महत्वपूर्ण हुन्छ । पुरातात्त्विक स्थल, गुठी प्रणाली, जात्रा–पर्व र परम्परागत कलाको संरक्षणमा स्पष्ट नीतिगत समर्थन आवश्यक छ ।
विश्वव्यापीकरणले विश्वलाई नजिक ल्याएको छ, तर यसले सांस्कृतिक एकरूपताको खतरा पनि बढाएको छ । यदि सबैले एउटै भाषा, एउटै पहिरन, एउटै संगीत र एउटै जीवनशैली अपनाउन थालेभने स्थानीय विशेषता हराउन सक्छ । विविधता नै संस्कृतिको सौन्दर्य हो । नेपालजस्तो देशमा त झन् विविध संस्कृति नै राष्ट्रिय पहिचानको आधार हो । त्यसैले युवापुस्ताले आधुनिकता अँगाल्दै गर्दा आफ्ना जरा र पहिचानलाई पनि सम्मान गर्न जरुरी छ ।
परम्परागत संस्कृति पूर्ण रूपमा हराउँदै गएको भन्नु भन्दा पनि यसमा भएको नराम्रो परम्परालाई हटाउदैँ, परिवर्त गर्दै, परिष्कृत गर्दै अगाडि बढ्न आवश्यक छ । संस्कृति जोगाउनु भनेको विगतलाई जस्ताको त्यस्तै थामेर बस्नु होइन, त्यसलाई वर्तमान सन्दर्भमा सान्दर्भिक बनाउँदै अगाडि बढाउनु हो ।
यदि युवापुस्ताले आफ्नो पहिचानप्रति गर्व गर्ने वातावरण निर्माण भयो, परम्परागत ज्ञान र सीपलाई सम्मान र अवसर प्राप्त भयो, आधुनिकता र परम्पराको सन्तुलन कायम गरियो भने संस्कृति केवल स्मृतिमा सीमित हुने हुदैँन्, त्यो भविष्यका पुस्तासम्म जीवित र सशक्त रूपमा हस्तान्तरण हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  १२ : २६ बजे