रामेछाप । मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान भएको बस दुर्घटनापछि मृतक तथा घाइतेका आफन्तहरूले बुधबार मन्थली बजार क्षेत्रमा सवारी आवतजावत बन्द गराएका छन् । पीडित पक्षले दोषीमाथि कारबाही र क्षतिपूर्तिसहित न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आफन्तहरूले बिहानैदेखि मुख्य सडक खण्डमा सवारी साधन सञ्चालन रोक्दै विरोध जनाएका छन् । यातायात अवरुद्ध हुँदा मन्थली बजार तथा आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा र ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ । तर बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएकाले पीडित परिवारका मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया रोकिएको छ ।
स्थानीय प्रशासनले मंगलबार रातिदेखि नै पीडित पक्षसँग वार्ता गर्दै आएको भए पनि कम्पनीका अधिकारी उपस्थित नहुँदा निष्कर्षमा पुग्न नसकिएको जनाइएको छ । आफन्तहरूले कम्पनीका जिम्मेवार प्रतिनिधि उपस्थित भई स्पष्ट धारणा सार्वजनिक नगरेसम्म शव परीक्षण र अन्य प्रक्रिया अघि बढ्न नदिने अडान राखेका छन् ।
पीडित पक्षले दुर्घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । प्रशासनले वार्ता र समन्वयमार्फत समस्या समाधानका लागि प्रयास जारी राखेको जनाएको छ ।










प्रतिक्रिया