काठमाडौं । विद्यार्थीमा एआई, रोबोटिक्स र कोडिङ सीप विकास गर्ने उद्देश्यले स्किल्सअपले ‘कोडेभर ७.०’ राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको छ ।
निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा आयोजित प्रतियोगिता सोमबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको हो ।
देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा ७–१८ वर्ष उमेर समूहका विद्यार्थीहरूले ‘स्वस्थ भविष्यका लागि प्रविधि’ थिममा आधारित करिब १०० परियोजना प्रस्तुत गरेका थिए ।
प्रतियोगिता इनोभेसन एन्ड आन्टरप्रेनरसीप, वेलनेस वेभ एआई–रोबो च्यालेन्ज र रोबो सकर लिग गरी तीन ट्र्याकमा सञ्चालन गरिएको थियो ।
स्वास्थ्य, वातावरण र सुरक्षामा केन्द्रित उत्कृष्ट परियोजनालाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ । वेलनेस वेभ एआई–रोबो च्यालेन्ज र रोबो सकर लिग (सिनियर/जुनियर) का विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताबाट उत्कृष्ट ३५ परियोजना आगामी मे १६–१७, २०२६ मा इन्डोनेसियाको जकार्तामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।










प्रतिक्रिया