Logo

खेलकुद

गौरमा क्रिकेटको महाकुम्भ :फागुन १ देखि ‘जीपिएल’ को तेस्रो संस्करण सुरु हुँदै



रौतहट । रौतहटको सदरमुकाम गौरमा क्रिकेटको रौनक फेरि फर्कने भएको छ ।
जिल्लाकै सर्वाधिक प्रतिक्षित र चर्चित क्रिकेट प्रतियोगिता ‘गौरीशंकर यादव प्रिमियर लिग (जीपिएल)’ को तेस्रो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने तय भएको छ ।
खेलकुदको माध्यमबाट युवाहरूलाई जोड्ने र स्थानीय प्रतिभालाई प्रस्फुटन गराउने लक्ष्यका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले अहिले गौरबासीमा उत्साह थपेको छ ।
यस पटकको संस्करणमा गौर नगरपालिकाका विभिन्न टोल तथा क्षेत्रको प्रतिनिधित्व गर्ने नौं वटा टिमहरू मैदानमा उत्रिनेछन् । गौरको पहिचानसँग जोडिएको यस लिगमा सहभागी हुने टिमहरूले उपाधिका लागि कडा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । प्रतियोगिताका सबै खेलहरू गौरस्थित राइस मिल खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
गौरी शंकर यादव फाउन्डेसनको आयोजना र रौतहट जिल्ला क्रिकेट संघको प्राविधिक सहकार्यमा हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
फाउन्डेसनका अध्यक्ष मोहन यादवका अनुसार अघिल्ला दुई संस्करणको सफलता र लोकप्रियतालाई मध्यनजर गर्दै यस पटकको जीपिएललाई अझ बढी व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउन कुनै कसर बाँकी राखिएको छैन ।
अध्यक्ष यादवले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेकै स्थानीय स्तरमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्नु हो । जीपिएलले गौरमा क्रिकेटको विकास मात्र नगरी युवाहरूलाई अनुशासित र खेलतर्फ आकर्षित गर्न ठूलो भूमिका खेल्दै आएको छ ।’
लामो समयको प्रतीक्षापछि जीपिएल फर्कन लागेकाले गौरका क्रिकेटप्रेमीहरू निकै उत्साहित छन् । स्थानीय खेलाडीहरूका लागि यो प्रतियोगिता आफ्नो सीप प्रदर्शन गर्ने र राष्ट्रिय स्तरको सपना बुन्ने एउटा महत्वपूर्ण अवसर बनेको छ । अघिल्ला संस्करणहरूमा जस्तै यस पटक पनि राइस मिल मैदानमा दर्शकहरूको निकै बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ ।
प्रतियोगिताले गौरको पहिचानलाई खेलकुदको माध्यमबाट अगाडि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ । रौतहट जिल्ला क्रिकेट संघले पनि यस प्रतियोगितालाई जिल्लाको क्रिकेट क्यालेन्डरकै एउटा महत्वपूर्ण हिस्साको रूपमा हेरेको छ ।
प्रतियोगिता अवधिभर गौरमा खेलकुदमय वातावरण सिर्जना हुने र यसले स्थानीय व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
आगामी फागुन १ गते भव्य उद्घाटन समारोहका बीच सुरु हुने यस प्रतियोगिताले गौरको खेल इतिहासमा अर्को नयाँ इँटा थप्ने निश्चित छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ६ : ३५ बजे