हेटौंडा । निर्वाचन २०८२ अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
रानाको राजनीतिक यात्रा २०३६ सालको जनआन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट सुरु भएको हो।
२०३८ सालमा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै जिल्ला कमिटी अध्यक्ष बनेका उनी २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य चयन भए । त्यसपछि पार्टीको शाखा कमिटी, हेटौंडा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय रहे ।
२०५१ सालमा एमाले मकवानपुरको सचिव बनेका रानाले तीन कार्यकाल जिल्ला नेतृत्व सम्हालेका छन्। उनी बागमती प्रदेश कमिटी सदस्य हुँदै चार कार्यकाल पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरिसकेका नेता हुन्। एमालेको ११औँ महाधिवेशनबाट उनी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
स्थानीय तहमा पनि उनको अनुभव उल्लेखनीय छ । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिका–११ का वडा अध्यक्ष निर्वाचित भएका राना २०५४ सालमा जिल्ला विकास समिति मकवानपुरको सभापति समेत बने। सो कार्यकालमा उनले चुरे संरक्षण, सडक सञ्जाल विस्तार तथा मकवानपुरको एकीकृत विकासको अवधारणा अघि सारेका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरे पनि उनी पराजित भएका थिए। त्यसयता दुई पटक सिफारिसमा परे पनि नेतृत्वको अवसर नपाएका राना २०७९ सालको निर्वाचनमा एमालेबाट कमल थापालाई उम्मेदवार बनाइएपछि अन्तिम समयमा संसदीय चुनाव लड्ने अवसरबाट वञ्चित भएका थिए। पटक–पटक अवसर नपाए पनि पार्टी जिम्मेवारीमा निरन्तर सक्रिय रहँदै आएको उनको भनाइ छ।
ईमान्दार, कर्मठ र सादगी नेताका रूपमा परिचित रानाले निर्वाचन क्षेत्रमा आफ्नो बलियो पकड रहेको दाबी गर्दै यसपटक अन्य उम्मेदवारलाई पछि पार्दै जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
मकवानपुर क्षेत्र नम्बर–१ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा कांग्रेसकी पूर्व सांसद महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपाका युवा उम्मेदवार विजय गौतम, राप्रपाबाट पूर्व सांसद दीपकबहादुर सिंह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता प्रकाश गौतमसँग रानाको मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
उक्त क्षेत्रमा कुल २३ जनाको उम्मेदवारी परेको छ, जसमा १३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्।










प्रतिक्रिया