Logo

समाचार

चुनावी अभियानमा मृत्यु भएकी वालिकाको परिवारलाई रास्वपाले क्षतिपूर्ति दिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधन भएको घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाएको छ ।

शुक्रबार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ती जारी गर्दै घटनाप्रति रास्वपा अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएका हुन् ।

‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ । यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं,’ उनले भने ।

पार्टीले उक्त घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाउँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कानुनी प्रक्रियामार्फत पीडित परिवारलाई न्याय दिलाउने विषयमा पार्टीले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेको छ । साथै, पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट पहल भइरहेको जानकारी पनि दिइएको छ ।

‘कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आगामी दिनमा यस्ता दुःखद् घटनाहरू दोहोरिन नदिन चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन पार्टीपंक्ति, उम्मेदवार तथा सवारी चालकहरूलाई कडा निर्देशन जारी गरिएको रास्वपाले जनाएको छ । सुरक्षा संवेदनशीलतालाई सर्वोच्च प्राथमिकतामा राख्न सबैलाई आग्रह समेत गरिएको छ ।

रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको थियो । बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठियाटोलमा बा १५ च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको हो ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  २ : ११ बजे